
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा कार्यालय बन्द गर्ने भएको छ ।
केन्द्रीय कार्यसमितिको आज बिहान बसेको आकस्मिक बैठकले भोलि मंगलबार पार्टीका सबै कार्यालय बन्द गर्ने र तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकले मङ्सिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिए ।
उपाध्यायको स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औँ दिनमा उपाध्यायको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं नेता आमोदप्रसाद उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो ।
उनको निधनप्रति कार्यसमिति बैठकले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । उनको आत्माको चिर शान्तिको कामना साथ दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति समवेदना पनि बैठकले प्रकट गरेको छ ।











