
काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्क सार्वजनिक गरिएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत निर्वाचन समितिले विभिन्न पदका उम्मेदवारले तोकिएको शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो ।
सार्वजनिक विवरणअनुसार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्दा १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, केन्द्रीय पदाधिकारी पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । यसैगरी, केन्द्रीय आयोग अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तथा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
हाल भृकुटीमण्डपमा एमालेको निर्वाचन प्रक्रिया जारी रहेको छ भने तोकिएका पदमा उम्मेदवारी दिन इच्छुक नेताहरू दर्ता प्रक्रियामा सहभागी भइरहेका छन् ।











