काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीको नेतृत्वलाई विधि, पद्धति र सामूहिकताको आधारमा सञ्चालन गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

भृकुटीमण्डपमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने बताए । उनले पार्टीको आन्तरिक जीवनमा प्रतिस्पर्धा नौलो नभएको उल्लेख गर्दै भने, ‘भूमिगत कालदेखि नै पार्टीभित्र प्रतिस्पर्धा हुँदै आएको छ । अहिले जनताको बहुदलीय जनवाद (जबज) को खुला वातावरणमा आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धा हुनु स्वाभाविक हो । मैले उम्मेदवारी दिएको मुख्य उद्देश्य पार्टीको नेतृत्वलाई सामूहिक, विधिसम्मत र व्यवस्थित बनाउनु हो ।’
उनले पार्टीको विचार, सङ्गठन र नेतृत्वलाई समयसापेक्ष रूपमा पुनर्गठन र अद्यावधिक गर्न आवश्यक रहेको बताए । महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘पार्टीको विचारधारा, सङ्गठनात्मक संरचना, नेतृत्व चयन र कार्यशैलीलाई अझ प्रभावकारी तथा समसामयिक बनाउनु आजको माग हो ।’
आफ्नो उम्मेदवारीले एमालेलाई थप एकताबद्ध, बलियो र गतिशील बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै पोखरेलले महाधिवेशनबाट नयाँ ऊर्जाका साथ पार्टी अघि बढ्ने बताए ।











