काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, सोमबार भने सामान्य अङ्क बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक ६.७४ अङ्क बढेर २६०१.६१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.७८ अङ्क बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ४ अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२९ स्टकको ५६ हजार १२२ पटकको कारोबारमा ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको ७७ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको हिमस्टार उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक ६.९५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैङ्कको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ भने नेपाल एसबिआई बैङ्कको करिब साढे १३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो ।











