काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा सचिव पदमा दाबी पेश गरेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको प्यानल छाडेको घोषणा गरेका छन् ।

उनले भने, ‘समय र परिस्थितिअनुसार पार्टीको अहिलेको सन्दर्भमा मैले धेरै ठूलो पनि भनिनँ । सचिवमा जानुपर्छ भन्ने मेरो माग थियो । उपाध्यक्षमा प्रस्ताव आएको थियो, तर म तयार भइनँ।’
श्रेष्ठले पार्टीको चौथो महाधिवेशनदेखि निरन्तर सक्रिय रहेको र सचिव पदका लागि दाबी गर्दा पटक-पटक नाम काटिएको गुनासो समेत सुनाए । उनले भने, ‘नवौँ र दशौँ महाधिवेशनमा पनि मेरो नाम काटियो । मदन भण्डारीको विचारले विकसित पार्टीमा विद्या भण्डारी अटेनन् । म पनि अटिन सकिनँ र व्यावहारिक पक्षबाट अत्यन्तै पीडित भएँ।’
श्रेष्ठले पार्टीमा कुनै व्यक्तिलाई भगवान मान्ने अवस्था नरहेको र सामुदायिक पहलबाटै अघि बढ्नुपर्ने धारणा राखे ।
यसअघि २०७८ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै उनले दिएको भाषण निकै चर्चित भएको थियो ।
उनले त्यति बेला आक्रोशित मुद्रामा भनेका थिए, ‘केपी ओलीलाई हटाउने कोही माइकालाल छ ?’ उनी यतिमै रोकिएनन्, अगाडि भने, ‘केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो।’
तर उनै श्रेष्ठ जारी ११औँ महाधिवेशनमा ओली समूह छाडेर उनका प्रतिद्वन्द्वी पोखरेल समूहतिर लागेका हुन् । उनले सचिवमा उम्मेदवारी दिइसकेका छन्।











