Logo
Logo

ओलीको लिस्टमा को परे, को हटे ?


5.3k
Shares

काठमाडौं । एमालेको महाधिवेशनमा माओवादीबाट आएका नेताहरू उपेक्षा परेका छन् । उनीहरूको अवस्थामा ‘चोक्टा खान आएकी बुढी, झोलमा डुबेर मरी’ भनेजस्तै भएको छ । रामबहादुर थापा बादललाई उपाध्यक्ष दिएपछि लेखराज भट्टलाई अन्तिममा उपमहासचिवमा लगेका छन् । ‘ईश्वर पोखरेलको पक्षमा जान्छु’ भनेपछि मात्रै भट्टलाई उपमहासचिवको उम्मेदवार बनाइएको हो । 

भट्टलाई मनाउन भानुभक्त ढकाललाई सचिवमा साटफेर गरिएको थियो । दशौँ महाधिवेशनमा पूर्व माओवादीबाट २९ जना केन्द्रीय कमिटीमा पुगे पनि अहिले ओली समूहले १४ जनाको मात्रै नाम अटाएका छ । साथै, गुण्डुमा कम पुगेका नेताहरू पनि उपेक्षामा परेका छन् । प्रदीप ज्ञवालीलाई महासचिव दिने भनिए पनि उनले महासचिव पाएनन् । ओलीप्रति असन्तुष्टि जनाउँदै उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । 

झापाका अग्नी खरेल पनि उपेक्षामा परेका छन् । ओलीको पहिलो घेराका मान्छे भएपनि विद्यादेवी भण्डारीलाई भेटघाट गरेर मिल्नुपर्छ भनेकै आधारमा खरेललाई ब्ल्याक आउट गरिएको छ । सचिवमा उम्मेदवारी घोषणा गरेका आनन्द पोखरेललाई केन्द्रीय सदस्यमै करौँती लगाइएको छ । 

विद्यादेवी भण्डारी र ईश्वर पोखरेलसँगको सम्पर्कमा रहेका कारण पोखरेललाई केन्द्रीय सदस्य हुनबाट रोकिएको छ । उनलाई रोक्न पार्वत गुरुङसमेत लागेको आरोप छ । रघुजी पन्त ओलीको प्यानलमा नअटेपछि ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष बनेका छन् । ओलीको लिस्टमा केन्द्रीय सदस्य रहेका भीम आचार्यले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

ओलीलाई पेलेको संज्ञा दिने कृष्ण गोपाल श्रेष्ठले पनि ओलीको साथ छाडेका छन् । ओलीको लिस्टमा केन्द्रीय सदस्यममा परेका लालबाबु पण्डितले असन्तुष्टि जनाउँदै सचिवमा उम्मेदवारी दिएका छन् । ओलीले अनुशासन आयोगको अध्यक्षमा राखेका काशीनाथ अधिकारीले उम्मेदवारी नै दिएनन् । 

गुण्डुमा नियमित गइरहने श्याम बस्नेतको नाम हटाएर केन्द्रीय सदस्यमा थानेश्वर बस्यालको नाम राखिएको छ । हेलिकोप्टरमा सँगै भागेको सहयात्री मानवीर राईलाई केन्द्रीय सदस्य कायम राखेर बुद्धिकुमार राजभण्डारीको नाम हटाइएको छ । भर्खरै माधवकुमार नेपालको साथ छाडेर आएकी रामकुमारी झाँक्रीले केन्द्रीय सदस्यमा चित्त बुझाउनु परेको छ । नारादमुनी राना हटाइएका छन् । पृथ्वीसुब्बा गुरुङको नजिक रहेका शेरबहादुर तामाङ सचिवमा प्रचार गरिरहेको भएपनि ओलीको टिममा अटाएनन् ।

महेश बस्नेतलाई सचिवमा राखिएको छ । हिक्मत कार्की र शेरधन राईलाई पनि सचिवमा पारिएको छ । एमालेभित्र ओलीको भाञ्जाको रूपमा परिचय बनाएका बालकृष्ण शिवकोटी पनि केन्द्रीय सदस्य हुनबाट वञ्चित भएका छन् । 

युवाहरूबाट सुहाङ नेम्वाङ पनि परेनन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरकी सुनिता डंगोल, ललितपुरकी मञ्जली शाक्य बज्राचार्य र विराटनगरकी शिल्पा कार्की पहिलोपटक ओलीले टिममा राखेका छन् । सुनिता डंगोल केन्द्रीय स्थानीय विभागकी सदस्य हुन् भने मन्जली शाक्य ललितपुर जिल्ला कमिटी उपसचिव हुन् । शिल्पा कार्की भने मोरङको अधिवेशनमा उपसचिव उम्मेदवार बनेर पराजित भएकी थिइन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ दोस्रोपटक केन्द्रीय सदस्य उम्मेदवार बनेकी हुन् ।

ओखलढुंगाकी अस्मिता थापालाई पनि युवाहरूको टिममा समेटिएको छ । राधिका खतिवडालाई पनि ओलीले आफ्नो टिममा समेटेका छन् । पदाधिकारीमा अध्यक्ष ओलीको संस्थापन पक्षले १९ जना पदाधिकारीको नाम टुंगो लगाएर बाहिर ल्याएपनि कार्यकर्तामा व्यापक असन्तुष्टि उत्पन्न भएको छ । 

अध्यक्षमा ओली उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको हो । त्यस्तै, महासचिव शंकर पोखरेलको नाम टुंगो लागेको छ । त्यस्तै, उप–महासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमालको नाम टुंगिएपछि कार्यकर्ताहरूले अस्वीकार गरेका हुन् । ओलीको कमिटीमा नअटेका कपितयले मैदानमा स्वतन्त्र उम्मेदवारी दिएर भिडेरै छाड्ने हो भनेर नेताहरूलाई चुनौती नै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्