काठमाडौं । मङ्गलवार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार सामान्य अङ्क बढेर बन्द भएको नेप्से, आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १८.३७ अङ्क बढेर २६१९.९९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.३२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अङ्क बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२५ स्टकको ५५ हजार ७८ पटकको कारोबारमा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँबराबरको ७८ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैङ्क र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, बाराही हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने लुम्बिनी विकास बैङ्कको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको श्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमुल्य सर्वाधिक ४.१६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १९ करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, लुम्बिनी विकास बैङ्कको करिब साढे १० करोड रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो ।











