काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्धक हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करो ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा भ्रष्टाचार गरेको दाबी गरेको छ । उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
मुनकर्मी २०५४ फागुन १ गतेदेखि सरकारी सेवामा कार्यरत छन् । उनले २०८० मंसिर १४ गतेसम्मको अवधिको आयव्याय बारे अख्तियारले अनुसन्धान गरेको हो । यो अवधिमा उनको वैधानिक आम्दानीभन्दा बढी खर्च देखिएको अख्तियारले जनाएको छ।
बिनेश मुनकर्मीको एकाघरको परिवारकै तलबसहितको वैधानिक आम्दानी र खर्चको अनुसन्धान अख्तियारले गरेको थियो। जसमा सम्पुर्ण स्रोतबाट आम्दानी ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ २० पैसा पाइएको छ।
तर यो अवधिमा ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ ३९ पैसा खर्च गरेको पाइएको छ। यसरी उनको वैधानिक आम्दानी भन्दा २ करोड ५० लाख ३४ हआर ५१७ रुपैयाँ १९ पैसा बढी खर्च भएको पाइएको छ।
उनले यो रकम गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप अख्तियारको छ । उनकी श्रीमती पूर्ण केशरी गोसाईलाई पनि सम्पत्ति जफतका लागि अख्तियारले प्रतिवादी बनाएको छ ।
यसअघि अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारमा ५ पूर्वमन्त्री, एक चिनियाँ कम्पनीसहित ५६ प्रतिवादीविरुद्ध मुद्दा दायर गरिसकेको छ।











