काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एशियाली विकास बैंक एडीबीबाट प्राप्त हुने झन्डै १४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले सिराहाको लहान नगरपालिकामा पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता भएको जग्गा र भवन रामकुमार शारदा तथा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय पनि गरेको छ।
खरेलका अनुसार बैठकले पुस १२ देखि १४ गते काठमाडौँमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौं बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
साथै, मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि आठ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ।











