काठमाडौं । विद्युतीय मेसिनमा फेरि गडबडी भएपछि एमालेको नयाँ नेतृत्वका लागि हुन गइरहेको मतदान ढिलाइ भएको छ ।

उम्मेदवारको नाम इन्ट्रीमा समस्या भएपछि मतदान सुरु हुन ढिला भएको हो । मतदानका लागि देशका विभिन्न स्थानबाट आएका प्रतिनिधिहरू लाइनमा रहेका छन् ।
एघारौँ महाधिवेशनमा मतदान सुरु हुनुअघि अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल महाधिवेशन स्थलमा पुगेका छन् ।
दुवै नेताले प्यानल नै बनाएका छन् । ओली पक्षबाट शङ्कर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेय महासचिवका उम्मेदवार छन् ।
एमाले केन्द्रीय नेतृत्वका लागि ३ सय १ पदमा साढे ६ सयभन्दा बढी उम्मेदवार छन् । महाधिवेशनमा २ हजार २ सय ६३ मतदाता रहेका छन् ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भए पनि धेरै उम्मेदवार रहेकाले मतदान सम्पन्न हुन कम्तीमा १० घण्टा लाग्ने भएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ ।











