Logo
Logo

निर्वाचन ढिलो गर्नु उपयुक्त होइनः गोकर्ण विष्ट


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले यो महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू सामूहिकतामा विश्वास गर्ने भन्दै नेतृत्व हस्तान्तरण र रूपान्तरण हुनुको विकल्प नभएको बताए।

उनले भने, ‘मूल नेतृत्वमा दुई जनाबीच प्रतिस्पर्धा छ। म पार्टीलाई सामूहिक ढङ्गले चलाउनुपर्छ, नेतृत्व हस्तान्तरण हुनुपर्छ, रूपान्तरण गर्नुपर्छ भन्ने कुरामा विश्वास राख्दछु। महाधिवेशन प्रतिनिधिहरूले एउटा न्यायोचित फैसला गर्नुहुन्छ।’

उनले नेतृत्व रूपान्तरणको लागि आफूहरूले दुई कार्यकालको विषय उठाएको बताए । उनले थपे, ‘लोकतान्त्रिकीकरण भनेर पार्टी अध्यक्षले अगुवाइ गर्नुभएको थियो त्यसमा दुई कार्यकालका कुरा थिए। त्यो दुई कार्यकालको कुरो अहिले पनि लागू हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो, हाम्रो जोड थियो। यद्यपि विधान महाधिवेशनले त्यसलाई उल्टायो। फेरि पनि लोकतान्त्रिक अभ्यासलाई स्वस्थ मर्यादित भावनाका साथ सम्पन्न गर्नुपर्छ।’

लोकतान्त्रिक मर्यादा र संस्कारले नै पार्टीलाई बलियो बनाउने उनले बताए । उनले भने, ‘हजारौँ लाखौँ कार्यकर्ता नेताहरूको योगदान, रगत र पसिनाले यो पार्टी यहाँसम्म आइपुगेको छ। लाखौँ जनताहरूको साथ, सहयोग, समर्थनले यहाँसम्म आइपुगेको छ। २२६२ जना प्रतिनिधि साथीहरू सहभागी हुनुहुन्छ। सबै प्रतिनिधि साथीहरूले एउटा जिम्मेवार पूर्ण फैसला गरेर पार्टीलाई रूपान्तरण र नेतृत्वलाई हस्तान्तरण गर्नुहुन्छ।’

उनले मतदान ढिलाइ भएपनि आफूहरूले केही समय अगाडि निर्वाचन आयोगमा गएर निर्वाचन छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेको पनि बताए। उनले भने, ‘निर्वाचन ढिला गर्न हुँदैन भनेर निर्वाचन आयोगलाई भनेका छौँ। निर्वाचन ढिलो गर्ने कुरा उपयुक्त होइन।’

उनले आफ्नो टिमभित्र कुनै असन्तुष्टि नभएको जिकिर गरे। उनले भने, ‘दुइटा प्यानल प्रतिस्पर्धामा देखा परेका छन्। म वरिष्ठ नेता ईश्वर पोखरेल अध्यक्ष भएको प्यानलको तर्फबाट उपाध्यक्षको उम्मेदवार हुँ। प्रतिनिधि साथीहरूको जुन प्रकारको रेस्पोन्स छ, हामीले धेरै हल्ला गर्ने कुरालाई त्यति धेरै जोड दिइरहेका छैनौँ। नेतृत्व हस्तान्तरण हुन्छ, नेतृत्व एक प्रकारले मुख्य नेतृत्वमा नभए पनि अरू पदहरूमा पुस्तान्तरण पनि हुन्छ।’

प्रतिक्रिया दिनुहोस्