Logo
Logo

मेस्सीको भारत भ्रमण: आरतीदेखि वन्यजन्तु संरक्षणसम्म


504
Shares

एजेन्सी । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सी ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिन भारत भ्रमण गरेर सोमबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले भारतीय संस्कृति र परम्पराप्रति देखाएको सम्मानले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

The current image has no alternative text. The file name is: messi-1.jpg

हालै सार्वजनिक तस्बिरमा मेस्सीले गुजरातको जामनगरस्थित वनतारा संरक्षण केन्द्रमा परम्परागत आरती गर्दै प्रार्थना गरेको देखिन्छ । सनातन धर्मअनुसार गरिने पूजामा सहभागी भई उनले अम्बे माता, गणेश, हनुमान पूजा र शिव अभिषेक गरेका थिए। विशेषगरी हनुमानजीको मूर्तिअगाडि आशीर्वाद लिएको दृश्यले फ्यानहरूको मन छोएको छ ।

अर्जेन्टिनाका सुपरस्टार मेस्सी १३ डिसेम्बरमा भारत आएका थिए। यसपटक उनको भ्रमण कोलकाता, हैदराबाद, मुम्बई र दिल्लीमा केन्द्रित रह्यो । यसअघि सन् २०११ मा उनले कोलकातामै भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए ।

कोलकाता भ्रमण भने केही विवादित बन्यो । साल्ट लेक स्टेडियममा मेस्सीलाई प्रत्यक्ष देख्न नपाएको भन्दै केही प्रशंसकले तोडफोड गरेपछि पश्चिम बंगालको राजनीति समेत तरंगित बनेको छ ।

तर भ्रमणको सबैभन्दा स्मरणीय पक्ष जामनगरको वनतारा केन्द्र रह्यो । अनन्त अम्बानीको निमन्त्रणामा मेस्सी आफ्ना साथी लुइस सुआरेज र रोद्रिगो डे पलसहित त्यहाँ पुगेका थिए । ३ हजार एकडमा फैलिएको यो विश्वकै ठूलो वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्रमा सिंह, बाघ, हात्ती लगायतका जनावरको संरक्षण गरिन्छ ।

मेस्सीले वनताराको कामको खुलेर प्रशंसा गर्दै भने, ‘जनावरहरूको उद्धार र हेरचाहका लागि यहाँ भइरहेको काम साँच्चै सुन्दर छ।’ खेलमैदान बाहिर पनि संस्कृति, मानवता र संरक्षणप्रतिको सम्मान देखाएर मेस्सीले भारतीय फ्यानहरूको मन जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्