काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । बिहान साढे ९ बजेदेखि सुरु भएको मतदान राति ८ बज्दा पनि सकिएको छैन । अहिलेसम्म जम्मा १ हजार ३९ मत खसेको छ ।

निर्वाचन आयोगले ८ बजेसम्म मतदानस्थलमा पुगेकाहरूलाई मताधिकार दिने भनेकोमा अहिले त्यो समय बढाएर राति १० बजेसम्म पुर्याइएको छ । अब १० बजेभित्र मतदानस्थलमा पुगेकाहरूले भोट दिन पाउने छन् ।
साढे १० घण्टासम्म आधा पनि मत नखसेका कारण मतदान सकिन अझै घण्टौँ लाग्ने देखिएको छ । मतदानको क्रममा एक मतदाता नाम खोज्दाखोज्दै बेहोस भएका छन् ।
महाधिवेशनमा प्रत्येक मतदाताले ३०१ सदस्यका लागि मतदान गर्नुपर्छ । केही मतदाताले आफूले छान्नुपर्ने उम्मेदवारलाई चिन्न नसक्दा असिनपसिन भएका छन् । केही मतदाता बेहोस पनि भएका छन् । सबैभन्दा छिटो भने एक मतदाताले मात्र ९ मिनेटमा मतदान पूरा गरेका छन् । सामान्यतया, एउटा मतदाताले मतदान गर्न करिब ३०–३५ मिनेट समय लाग्ने गरेको छ ।
एमालेका कुल २,२६३ प्रतिनिधिले मतदान गर्ने भएकाले सबैको मतदान पूरा हुन करिब २२ घण्टा लाग्ने अनुमान छ । काठमाडौँको भृकुटीमण्डपमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ।
एमालेको १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।











