काठमाडौँ । फिफाले २०२६ को विश्वकपका लागि ४५ पाउन्ड स्टर्लिङको नयाँ किफायती टिकट सार्वजनिक गरेको छ । यो कदम प्रतियोगिताको मूल्य निर्धारण संरचनाको आलोचनापछि उठाइएको हो, जसले समर्थकहरूलाई सबै १०४ खेल हेर्न सजिलो बनाउने उद्देश्य राखेको छ ।

विश्व फुटबलको नियामक निकायले नयाँ टिकट मूल्य निश्चित सङ्ख्यामा छनोट भएका देशका समर्थकहरूलाई उपलब्ध गराइने बताएको छ । फुटबल समर्थक सङ्घ एफएसएका अनुसार पहिलेको मूल्य संरचना अनुसार फाइनलसम्म प्रत्येक खेलमा इङ्ग्ल्यान्डको खेल हेर्न एक प्रशंसकले ५ हजार पाउन्डभन्दा बढी खर्च गर्नु पर्ने अवस्था थियो ।
४५ पाउन्डको टिकट ‘समर्थक प्रवेश श्रेणी’ अन्तर्गत पर्ने सबैभन्दा कम मूल्यको विकल्प हो । यस अन्तर्गत क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने प्रतियोगितामा भाग लिने प्रत्येक फुटबल सङ्घका लागि विनियोजनको १० प्रतिशत टिकट उपलब्ध हुनेछ । उदाहरणका लागि इङ्ग्ल्यान्ड र स्कटल्यान्डका समर्थकहरूले समूह खेलका लागि लगभग ४०० टिकट ४५ पाउन्डमा पाउनेछन् ।
सन् २०२६ को फिफा विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।











