
बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले ८३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् ।
बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो । नाम र जन्म स्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्थे। उनले नागरिकता प्राप्त गरेसँगै पहिलोपटक आठ हजार वृद्धभत्तासमेत प्राप्त गरेको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।
लामो समयदेखि भकुण्डेमा बस्दै आएका उनी बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन थिए ।
नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित थिए । नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।
‘सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आएको तर बोल्न नसक्ने भएकाले उनलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता लिनुभयो’, खड्काले भने ।
बाँसका सामग्री बनाउँदै आएका उनको जीवनको उत्तराद्र्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो ।











