बुटवल । सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलमा बहस सकिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षका कानुन व्यवसायीहरूले बहस पूरा गरेका हुन् । बहस सकिएसँगै अब अदालतले आदेश दिने तयारी गरेको छ ।
यसअघि मङ्सिर २५ गतेका लागि तोकिएको पेशी ‘हेर्न नमिल्ने’ कारण स्थगित भएको थियो । त्यसअघि मङ्सिर ११ गते तोकिएको पेशी पनि लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका हुन् ।











