काठमाडौं । तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ लिएका छन् । बिहीबार सम्पन्न ११औँ महाधिवेशनबाट ओली ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

१ हजार ६ सय ६२ मत पाएर उनी तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । ओली यसअघि नवौँ र दसौँ महाधिवेशनबाट पनि अध्यक्षमै निर्वाचित भएका थिए । ओलीले १ हजार ६ सय ६२ मत पाउँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण भइरहेको छ । नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिइसकेका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भइरहेको छ ।











