काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित भएपछि गोकर्ण विष्टले ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलगायतका सबै नेताहरूको निष्ठा, साहस र सङ्घर्षलाई सम्मान गरेका छन् ।

नेता विष्टले खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि आफूहरूको अभियानको नेतृत्व गर्ने ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेप्रति सम्मान व्यक्त गरेका हुन् । उनले आजीवन सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालसहितका अग्रजहरूले देखाएको उच्च नैतिकता र त्यागको प्रशंसा गरेका छन् ।
उनले भनेका छन् :
सर्वप्रथम नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । महाधिवेशनमा विजय हासिल गर्ने अध्यक्ष कमरेड केपी ओलीसहित सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रतिस्पर्धामा उम्मेदवारका रूपमा भाग लिई लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाउने सबै कमरेडको भूमिकाको उच्च कदर गर्दछु । खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नुहुने कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डेलगायतका सबै नेता कमरेडहरूको निष्ठा, साहस र सङ्घर्षलाई हार्दिक सम्मान छ ।
यस महाधिवेशनमा मलाई केन्द्रीय उपाध्यक्ष पदमा विजयी गराउन अमूल्य मत दिनुहुने सबै आदरणीय प्रतिनिधि कमरेडहरु, हौसला दिनुहुने आदरणीय अग्रजहरु, प्रचारप्रसारमा अहोरात्र खट्ने सहयोद्धा कमरेडहरुप्रति हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु । यो अभियानमा महत्त्वपूर्ण योगदान दिनुहुने संचारकर्मी मित्रहरू, देशविदेशमा रहेर साथ, सहयोग र समर्थन गर्नुहुने सबै शुभेच्छुकलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु । हाम्रो सङ्गठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउन अवश्य सफल हुने छौँ ।











