काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट २०२५ को विजेता लुम्बिनी लायन्सले ‘च्याम्पियन्स ट्रफी सेलेब्रेसन टूर’ आउँदो शनिबारदेखि सुरु गर्न लागेको छ ।

सो टूर पुस ५ गते बाँके–बर्दियाबाट सुरु भएर दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै नवलपरासी र रुपन्देहीमा पुगेर पुस १५ गते समाप्त हुनेछ ।
लुम्बिनी लायन्सले गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपीएल २०२५ को उपाधि जितेको थियो । विजेता टोलीले आफ्नो ट्रफी लुम्बिनी प्रदेशका विभिन्न स्थानमा उत्सवका साथ प्रदर्शन गर्ने जनाएको छ ।
सोसल मिडियामा जानकारी दिँदै लायन्सले जनसमुदायसँग उत्सव मनाउन आमन्त्रण गरेको छ, जसले स्थानीय क्रिकेटप्रेमीहरूमा उत्साह थप्ने विश्वास व्यक्त गरिएको छ ।
टूरले प्रदेशभरी क्रिकेट र समर्पणको संदेश फैलाउने र विजेताको गौरव बाँड्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।












