काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट प्राप्त तेस्रो कार्यकालमा पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले भने, ‘एमालेको अध्यक्षको हैसियतले भन्दै छु, ६ दशकमा हासिल गरेको अनुभवका आधारमा, सिङ्गो पार्टीलाई एकताबद्ध गरेर गणतन्त्र केन्द्रित निर्णायक राष्ट्रिय शक्ति बनाउँछु ।’
सम्बोधनका क्रममा ओलीले यसपटक केन्द्रीय कमिटीमा स्थान नपाएका नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र केशव बडालप्रति धन्यवाद व्यक्त गरे । ‘हामी लोकतान्त्रिक प्रतिस्पर्धाबाट नयाँ केन्द्रीय कमिटी बनाएका छौँ’, उनले भने, ‘केन्द्रीय राजनीतिबाट बिदा हुनुभएका नेताहरूको योगदानको हामी सधैँ सम्मान गर्नेछौँ ।’











