Logo
Logo

आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित


756
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ३ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।   

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई।हरि डंगोल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई।केविन जंग थापा, ई।रोसन सारू र ई.सुन्दर लाखे तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू दिपक केसी (खत्री), बिमल कार्की, ओम प्रकाश शर्मा र कृष्ण बहादुर बस्नेत रहेका छन् । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । प्रहरी सङ्गठनमा प्राविधिक समूहतर्फ रही व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा अझै उत्प्रेरित भई आफ्नो लगन र निष्ठालाई अक्षुण्ण राखी सङ्गठनात्मक गतिशीलतामा थप योगदान पुर्‍याउन उनले निर्देशन समेत दिए । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. हरि डंगोलले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्