
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५०० सय लिई विदेश नपठाएर सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।











