Logo
Logo

बङ्गलादेशमा शेख हसिनाको सत्ता ढाल्ने नेता उस्मान मारिए


1.4k
Shares

काठमाडौं । बङ्गलादेशमा जुलाई २०२४ को विद्यार्थी विद्रोह (जुलाई क्रान्ति) का प्रमुख नेता तथा इंकिलाब मञ्चका प्रवक्ता शरीफ उस्मान हादीको मृत्युपछि देशभर हिंसा भड्किएको छ ।

३२ वर्षीय हादी डिसेम्बर १२, २०२५ मा ढाकामा मस्जिदबाट बाहिरिने क्रममा अज्ञात आक्रमणकारीहरूले टाउकोमा गोली हानेका थिए । उनी स्वतन्त्र उम्मेदवारका रूपमा ढाका-८ बाट आगामी फेब्रुअरी चुनावमा प्रतिस्पर्धा गर्न लागेका थिए । गम्भीर घाइते हादीको उपचारका लागि डिसेम्बर १५ मा सिंगापुर लगिएको थियो, तर डिसेम्बर १८ मा उपचारका क्रममा उनको निधन भयो ।

उनको मृत्युको खबर फैलिएलगत्तै ढाका र अन्य सहरहरूमा हजारौँ समर्थकहरू सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले देशका प्रमुख दैनिक पत्रिकाका  कार्यालयमा आगजनी र तोडफोड गरेका  छन् । 

यसैगरी, पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानको धनमोन्डीस्थित निवासमा पनि तोडफोड भएको छ भने अवामी लिगका कार्यालयहरू जलाएका छन् । 

प्रदर्शनकारीहरूले भारतविरोधी नारा लगाएका र चट्टोग्राममा भारतीय सहायक उच्चायोगलाई लक्षित गरी ढुङ्गा प्रहार गरेका छन् । अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले हादीको मृत्युलाई राष्ट्रको अपूरणीय क्षति बताउँदै उनलाई शहीद घोषणा गरेका छन् ।

उनले डिसेम्बर २० मा राष्ट्रिय शोक दिवस घोषणा गरी शान्तिको अपील गरेका छन् । हादीको हत्याले शेख हसिना सरकार ढालेको आन्दोलनका समर्थकहरू र पुराना शक्तिबीचको तनावलाई झन् बढाएको छ, जसले आगामी चुनावअघि बङ्गलादेशको राजनीतिक अस्थिरतालाई थप जटिल बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्