
अहंकारको कालो बादलले पूरै आकाश ढाकिरहेछ ।
आशिर्वाद, चाकडीवाद र पुर्णतावादको महायज्ञ चलिरहेछ ।
लङ्काको आधिपत्य सामान्य वानरसेना
आक्रोशको ज्वालामा दन्किदा मसानघाटका
खरानीहरू प्रतिशोध र प्रतिरोधको दाह्रा किटेर
राक्षसी दानवहरू अहंकार र घमण्डको आगो ओकल्दैछन् ।
जलेको लङ्का, ढलेको सत्ता, गुमेको सिंहासन
पुन फर्काउन खोज्नेहरू
विक्षृखलताको तातो भुङ्ग्रोबाट उम्केका माछाहरू
जनआक्रोस र जनमतको ढोक्साबाट उम्कने छैनन् ।
आफ्नै जय–जयकारको अग्नीकुण्डमा स्वाहा
भएका दानवहरू
कुविचार र कुशासनको दिर्घआयुका लागि
महाकुम्भमा महायज्ञ लगाई रहेछन् ।
क्रोध, रिस, ईष्या, कलह, गालीगलौजको
हतियार बर्साएर नरसंहारकारी बधशालामा
आस्था, भावना र इमानदारीताको घाँटी रेटिरहेछन् ।
स्वार्थ, द्धेष, अहंमताको छुद्र धारिला हतियारहरू
निर्मम रुपमा चलिरहेछन् ।
तिम्रो ‘म’वादको अहंकारी महायज्ञमा
फेरि समानता, लोकतन्त्र र स्वच्छताको बलि चढ्नेछन् ।
भरोसाको मुना र लोकतन्त्रको पालुवाहरू मर्नेछन् ।
सपनाहरू जल्नेछन्, विचारहरू रेटिनेछन्
तिम्रो अहंकार र ‘म’वादको अहंमताले
इतिहासको गाथा मेटिनेछन् ।
भविष्यको यात्रा रोकिनेछन् ।
अहंकारको यज्ञकुण्डमा तिम्रो अहंम् स्वाहा हनेछ ।











