काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । कारागारबाट रिहा भएको भोलिपल्ट चितवनको चौबीसकोठीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत महत्वाकांक्षाभन्दा देश ठूलो भएको जोड दिए ।

भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले भने, ‘म कारागारमा हुँदा पनि भन्दै आएको थिएँ-पार्टी बनाउनुस्, चुनाव चिन्ह, झण्डा, कार्यालय वा सिङ्गो पार्टी नै लैजानुस् । मलाई केही चाहिएको छैन । देश बन्नुपर्छ, व्यक्तिको महत्त्व ठूलो होइन ।’
उनले मिल्नुपर्नेहरू अन्तिम समयमा संवादमार्फत मिलेर अघि बढ्ने विश्वास व्यक्त गरे । ‘मिल्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन । यो एउटा चुनावका लागि मात्र होइन, एउटा पुस्ताका लागि राजनीति गरेको हुँ,’ उनले भने । साथै, उनले सरकारलाई निर्वाचन गराउने बाटोमा अघि बढ्न आग्रह गर्दै रास्वपा सुशासन र जनआन्दोलनका माग पूरा गराउन सरकारको साथमा रहेको बताए ।
‘जेनजीहरूको सपना पूरा गर्न आँट चाहिन्छ । देशका संरचना जल्दा दुख लाग्छ, तर खरानी भएका सपना ब्युँताउन हामी सबै लागौँ । जेनजी दाजुभाइ-दिदीबहिनीहरू, रवि दाइ साथमै छ, चिन्ता नगर्नुस्,’ उनले भने ।











