काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टी इमानदारीपूर्वक अगाडि बढिरहेको दाबी गर्दै देश विकासका लागि एक पटक मौका दिन आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी साँच्चै जनताको चाहनालाई पूरा गर्न इमानदारीका साथ अगाडि बढेका छौँ,’ नेपालले भने, ‘हामीलाई एक पटक मौका दिनुहोस् । हामीले आजसम्म इमानदार राजनीति, देशभक्ति, देशप्रेम र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्दै आएका छौँ ।’
उनले पार्टीका नेताहरूले निर्वाह गरेको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्न पनि आग्रह गरे ।‘तपाईँहरूले सुन्नुभयो, देशमा गणतन्त्र ल्याउने सन्दर्भमा होस्, त्यसअघि निर्दलीय व्यवस्थाविरुद्धको भूमिका होस्, संविधान निर्माण, लोकतान्त्रिक गणतन्त्रको स्थापना वा देशको विकास योजनालाई अगाडि बढाउने सन्दर्भमा हामीले खेलेको भूमिकाको एक–एक मूल्याङ्कन गर्नुहोस्,’ नेपालले भने, ‘राम्रो कामलाई राम्रो भन्नुहोस्, नराम्रो भए आलोचना गर्नुहोस् भने हामी स्वीकार गर्न तयार छौँ ।’











