Logo
Logo

खतिवडाले उद्योग बन्द गराए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असोज । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले झन्डै दुई तिहाई सरकारलाई त्यसै असफल तुल्याएका होइनन् । विशाल ग्रूपको चकलेटमा भन्सार छुट दिने खतिवडाले स्वदेशका उद्योगहरुलाई भने घाँटी ङ्याकेर गएका छन् । पछिल्लोपटक उनको यो नियत छरपस्ट भएको छ । अरु अर्थ मन्त्रीले मुलुकमा कसरी उद्योगहरु स्थापना गर्ने, रोजगारी बढाउने, करको दायरा वृद्धि गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्ने भन्नेमा अनेकन नीतिगत र वस्तुगत निर्णय गर्छन् । तर खतिवडा भने भइरहेका उद्योग कसरी सखाप पार्ने भन्नेमा टर्बाइन र पेनस्टक व्यापारीको मिलेमतोमा यहाँका उद्योगहरुमाथि लात हानेका छन् ।

जलविद्युत् आयोजनाका लागि चाहिने टर्बाइन र पेनस्टक पाइपको चीनबाट आयात गर्ने व्यापारीहरुसँग मिलेमतो गरी खतिवडाले चालू बजेटमा आयातीत तयारी सामान (पेनस्टक) मा कर छुट दिए । तर नेपालमै उद्योग स्थापना गरी स्वदेशी जलविद्युत् आयोजनालाई आपूर्ति गर्दै आएका उद्योगीहरुले आयात गर्ने स्टल पातामा भने १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सार महसुल ठोकिदिए ।

यो खतिवडाको नीतिगत भ्रष्टाचार हो । जसरी विशाल ग्रूपको चकलेटमा कर मिन्हा मात्र गरेनन् उक्त ग्रूपले आयात गरेको विद्युतीय गाडीमा बजेट अघि नै भन्सार पास गर्न लगाए । पर्सिपल्ट बजेट भाषणमा विद्युतीय सवारी साधानमा ८० प्रतिशत भन्सार कायम गरिदिए । यसले गर्दा विशाल ग्रूपले आयात गरेको विद्युतीय गाडीमा अर्बाैं रुपैयाँको राजस्व गुम्यो । यस्तो नियत भएका अर्थ मन्त्रीले यही शैलीमा चिनियाँ व्यापारीसँगको मिलेमतोमा नेपाली उद्योगले आयात गर्दै आएको कच्चा पदार्थमा कर ठोकिदिए । अरु देशमा कच्चा पदार्थ आयातमा सहुलियत पाइन्छ भने यहाँ कस्ने काम भएको छ ।

खतिवडा निवृत्त हुनुअघि नै नेपालमा पेनस्टक पाइप बनाउने कम्पनी, स्वतन्त्र विद्युत् उत्पादकहरुको संस्था इपान लगायतका निकायले प्रधानमन्त्री केपी ओलीसमक्ष ज्ञापन पत्र पेश गर्दै खतिवडाको कर्तुत उजागर गरेका थिए । कोरोनाले त्यसै पनि नेपाली उद्योग धराशायी भइरहेका बेला इपान र उद्योगहरुले ओलीसमक्ष गुनासो गरेपछि उनी पनि द्रविभूत हुँदै दुई साताअघिको मन्त्रिपरिषद् बैठकमा खतिवडाको नीतिगत भ्रष्टाचारलाई केही सच्याउने प्रयास गरे । तर प्रधानमन्त्री ओलीले पनि पूर्ण रुपमा नेपाली उद्योगलाई साथ दिएनन् । जबसम्म आयातीत तयारी माल (पेन स्टक) मा भ्याट लाग्दैन, तबसम्म नेपाली उद्योग प्रतिस्पर्धी हुन सक्दैनन् ।

अहिले विद्युत् व्यवसायीको एउटै माग छ- हामीलाई गरिखान देऊ । यसका लागि उनीहरु ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गुहार मागिसकेका छन् ।

कोरोनाअघिदेखि नै पेनस्टक पाइप बनाउने उद्योगहरु सीमित क्षमतामा चलेका थिए । त्यसलगत्तै भएको लकडाउनका कारण पाँच प्रतिशत पनि उद्योग नचलेको धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जिनियरिङ प्रालिका प्रबन्ध सञ्चालक बलबहादुर केसीले बताए । उनका अनुसार अहिले एक दर्जन उद्योग बन्द छन् । ‘बाहिरबाट तयारी रुपमा आउने पनेस्टकमा १३ प्रतिशत भ्याट नलगाउने हो भने, हाम्रा उद्योग चल्दैनन्,’ उनले भने, ‘हामी प्रतिस्पर्धा गर्न सक्दैनौं ।’

सीमित स्रोत, साधन, कमजोर पूर्वाधार, झन्झटिला प्रावधान, कच्चा पदार्थ डलरमा आयात गर्नुपर्ने अवस्था, सीमित बजार आदिका कारण स्वदेशी उद्योगका उत्पादन प्रतिस्प्र्धाी हुन नसक्ने केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्