काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नबनेको बताएका छन् । ईश्वर पोखरेल समूहको समीक्षा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधि छनोटदेखि बन्दसत्र र निर्वाचनसम्म पार्टी संरचनाहरूको दुरुपयोग भएको आरोप लगाए।

‘लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भयौँ, तर त्यो कति स्वस्थ र मर्यादित भयो भन्ने सबैले देखेकै छन्,’ भट्टराईले भने, ‘प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनसम्मका क्रियाकलापले पार्टीको आन्तरिक लोकतन्त्रमा गम्भीर प्रश्न उठाएको छ । सङ्गठन विभागलगायतका निकायको दुरुपयोगबाट आन्तरिक लोकतन्त्र अस्वस्थ बनाउने प्रयास भएको छ ।’
उनले यसको समीक्षा आगामी केन्द्रीय कमिटी बैठक (२६, २७ र २८ गते) मा हुने बताए । यद्यपि, लोकतान्त्रिक अभ्यासको परिणामलाई स्वीकार गर्ने उनको धारणा छ । ‘केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ । उहाँका सकारात्मक प्रस्तावलाई समर्थन गर्छौँ,’ भट्टराईले भने, ‘तर पार्टी एकता खण्डित गर्ने, गुटबन्दी गर्ने वा पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्छौँ ।’
आगामी निर्वाचनजस्ता बाह्य प्रतिस्पर्धामा भने पार्टी एकजुट भएर लाग्ने उनले प्रतिबद्धता जनाए । ‘पार्टीभित्र अराजनीतिक बार्गेनिङ गर्दैनौँ, तर राजनीतिक मुद्दामा निरन्तर सङ्घर्ष गर्छौँ । विभाजन होइन, आत्मसमर्पण पनि होइन, यो नै हाम्रो लाइन हो,’ उनले भने ।











