काठमाडौं । फिल्म ‘परान’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ । फिल्मले शनिवार प्रदर्शनको ५१औँ दिन पुरा गरेको हो ।

निर्देशक दीपक प्रसाद आचार्यले प्रदर्शनको ५१औँ दिनको अवसरमा टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको जानकारी दिएका छन् । हास्य कलाकारको रुपमा परिचित दीपक प्रसाद आचार्य ‘काकु’ को निर्देशकीय डेभ्यु फिल्म हो ।
परान अझै देशभरका कैयौँ हलमा फिल्म प्रदर्शनरत रहेको छ । यस वर्ष ५१औँ दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले पनि प्रदर्शनको ५१औँ दिन मनाएका थिए ।
फिल्मले ५१ दिनसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख ग्रस कमाई गरेको छ ।
‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म समेत बनेको छ । यसअघि फिल्म १२ गाउँले १९ करोड ९२ लाख, कबड्डी-४ ले २१ करोड ४० लाख र पूर्णबहादुरको सारङ्गीले ४६ करोड ८७ लाख ग्रस कमाई गरेका थिए ।
बाबु९छोराको भावनात्मक सम्बन्धको कथामा बनेको यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको प्रमुख भूमिका रहेको छ ।











