काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थालेको भन्दै षड्यन्त्रको शृंखला बन्द गर्न आग्रह गरेका छन्।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद पुनर्स्थापनाका नाममा धेरै आँखा नचम्काउन नेपाली कांग्रेस, नेकपा एमाले लगायत दललाई चेतावनी दिएका हुन्।
‘संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे ? कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको तपाईंले ? दुई तिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद ब्युँताउन खोज्नुभएको हो ? कुन संसद ब्युँताउन खोज्नुभएको तपाईंले ? जनताको मुद्दा बोल्दाबोल्दै माइक काट्ने संसद पुनः ब्युँताउन खोज्नुभएको ? कुन संसद ब्युताउँन खोज्नुभएको ? भ्रष्टाचारीका काण्डहरू छानबिन गर भन्यौं हामीले भ्रष्टाचारका काण्डहरू छानबिन होइन, संख्याका बलमा सामसुम पार्नलाई यो संसद ब्युँताउन खोज्नुभएको ? भयो, देखियो, तपाईंहरूको दुई तिहाइ। धेरै कुरा बिर्सिएका छैनौं र बिर्सिने छैनौं, अहिले बिर्सन नहुने कुरा, चुनावपछि त झन् बिर्सनै नहुने कुरा बताउँछु– यिनीहरूले कलिला केटाकेटीहरूको रगत पिएका छन्। यसलाई हामी बिर्सन सक्दैनौं।’
उनले कांग्रेस, एमालेलाई ठूलो कुरा गर्न नसुहाउने पनि बताए । उनले भने, ‘म कटाक्षमा गएको होइन । खबरदारी त एउटा पुस्ताका हिसाबले हामीले गर्नैपर्ने हुन्छ। संयन्त्रमा मानिसहरू होलान्, सरकारका मानिसहरू होलान्, मन्त्री कोको थिए, प्रधानमन्त्री को थिए, उच्चस्तरीय संयन्त्र बनाउँदा त्यसका संयोजक कोको थिए ? तिनीहरू सबैको अनुहारमा केटोकेटीको रगतको छिटा परेको छ, खबरदार ! षड्यन्त्रको शृंखला बन्द गर्नुहोला, धेरै आँखा नचम्काउनुहोला ।’












