काठमाडौँ । साहित्यकार सपना आचार्यद्वारा लिखित संस्मरण कृति ‘उनले छोडेको उज्यालो’ यही पौष ७ गते आमाको वार्षिक पुण्यतिथिको अवसरमा विमोचन गरिएको छ । यो उनको दोस्रो कृति हो, जुन दिवंगत आमाको स्मृतिमा लेखिएको संस्मरण सङ्ग्रह हो ।

बुटवलमा आयोजित भावनात्मक कार्यक्रममा कृतिको विमोचन लेखिकाका पिता कृष्णलाल आचार्यको हातबाट सम्पन्न भयो । अर्थपूर्ण ढंगले आयोजना गरिएको उक्त कार्यक्रममा बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गरिएको थियो ।
यसअघि सपना आचार्यको पहिलो कृति ‘मलिलो माटो’ उपन्यास २०७८ सालमा प्रकाशित भएको थियो। सामाजिक यथार्थ र मानवीय संवेदनामा आधारित उक्त उपन्यासपछि ‘उनले छोडेको उज्यालो’ मार्फत आचार्यले झनै व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएकी छन् ।
‘उनले छोडेको उज्यालो’ मूलतः आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो । कृतिमा लेखकले भोगेको व्यक्तिगत पीडासँगै आमाछोरीबीचको आत्मीय सम्बन्ध, मातृत्वको गहिरो प्रभाव तथा जीवन–मृत्युको शाश्वत सत्यलाई भावनात्मक तर संयमित भाषामा प्रस्तुत गरिएको छ।
आमा भौतिक रूपमा उपस्थित नहुँदा पनि उहाँले छोडेर गएको संस्कार, ममता र मूल्यबोध सन्तानको जीवनमा कसरी उज्यालो बनेर रहिरहन्छ भन्ने भाव कृतिको केन्द्रमा छ।
पुस्तकको भाषा सरल, आत्मीय र संवेदनशील छ। घटनाभन्दा अनुभूतिलाई प्राथमिकता दिइएकाले पाठक भावनात्मक रूपमा कथासँग सहजै जोडिन पुग्छ। शोकको अँध्यारोभित्र पनि आशा, चेतना र मानवीय करुणाको उज्यालो खोज्नु यस कृतिको प्रमुख विशेषता हो।
आमाको स्मृतिलाई केवल विगतको पीडाका रूपमा होइन, जीवनलाई अघि बढाउने शक्ति र प्रेरणाका रूपमा प्रस्तुत गर्नु कृतिको उल्लेखनीय पक्ष मान्न सकिन्छ।
मानव सेवा आश्रमका वृद्ध आमाबुबालाई भोजन गराएर पुस्तक सार्वजनिक गर्नु स्वयं कृतिको भावभूमिसँग मेल खाने सांकेतिक कार्य हो। यसले ‘उनले छोडेको उज्यालो’ केवल साहित्यिक कृति मात्र नभई मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश बोकेको पुस्तक भएको पुष्टि गर्छ।
सुन्दर आवरणमा प्रकाशित यो कृति आजैदेखि बजारमा उपलब्ध छ। पुस्तकको मूल्य ५३३ रुपैयाँ तोकिएको छ।












