सुनको मूल्य इतिहासमै पहिलो पटक प्रति औंस ४,४०० अमेरिकी डलर पुगेको छ । विश्वभर आर्थिक र राजनीतिक अनिश्चितताको कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिमा पैसा राख्ने खोजी गर्दै गर्दा सुनको मूल्यले कीर्तिमानी उच्चतम विन्दु छुनु रोयटर्सले जनाएको छ ।

साथै, चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । प्रति औंस चाँदीको मूल्य ६९।४४ अमेरिकी डलरमा पुगेर कीर्तिमानी स्तरमा रहेको छ ।
यस वर्षको सुरुवातमा सुनको मूल्य प्रति औंस झण्डै २,६२४ डलर थियो । डिसेम्बरको अन्त्यसम्ममा सुनको मूल्य ४,४०० डलरमा पुगेको छ, जसले वर्षभरि करिब ६८ प्रतिशतको वृद्धि देखाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रति औंस २९ डलरबाट बढेर ६९ डलर पुगेको छ, यस वर्ष चाँदीको मूल्यमा १३३ प्रतिशत वृद्धि भएको छ । सुन र चाँदीको यस वार्षिक वृद्धि सन् १९७९ पछिको सबैभन्दा ठूलो वार्षिक वृद्धि हो ।
परम्परागत रूपमा सुरक्षित सम्पत्ति मानिने सुनको मूल्यमा वृद्धि बढ्दो भूराजनीतिक तनाव, व्यापारिक अस्थिरता र अमेरिकी केन्द्रीय बैंकको आगामी वर्ष कम ब्याजदरको अपेक्षासँग जोडिएको बताइएको छ।












