Logo
Logo

नाडामा किचलोः चौधरीले गरे जबरजस्ती साधारणसभा घोषणा

न्यायको ढोका ढकढकाउँदै असन्तुष्ट पक्ष


315
Shares

काठमाडौं । नाडाको विवाद सामाधान उन्मुख नहुँदा अन्ततः संस्था नै ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको छ । अध्यक्ष करण चौधरीले मनलाग्दी गर्दा संस्थाको अस्तित्व नै संकटमा परेको नाडाका सदस्यहरूले बताएका छन् ।

दुई वर्ष लामो विवाद समाधान नगरी अध्यक्ष चौधरीले आगामी पुस ९ गतेलाई साधारण सभा घोषणा गरेका छन् । जुन विधानविपरीत छ । यस विरुद्ध आकाश गोल्छा समूह अदालत गएका छन् । त्यसैले पनि पुस ९ गतेको साधारणसभा स्थगित हुने देखिन्छ ।

चौधरीले नाडालाई अरुकै इसारामा चलाएको असन्तुष्ट पक्षको आरोप छ । ‘एउटा कुहिएको आलुले सबै आलु बिगार्छ’ भन्ने भाष्य यहाँ सत्य सावित भयो । यति राम्रो विरासत बोकेको संंगठन चौधरीका कारण ‘कोल्याप्स’ हुने अवस्थामा पुग्यो’ नाडाका एक प्रतिनिधिले दृष्टिसँग भने ।

‘नाडाको विवाद मिलाउनका लागि चौधरीले प्रयाससमेत गरेनन् । उनले सुरुदेखि नै एकलौटी नाडामा मनलाग्दी गरिरहेका छन् । जसको परिणाम नाडा कोल्याप्स हुँदैछ ।

विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर छलफलसमेत गरेको थियो । तर दुई–तीन पटकको छलफल बिना निष्कर्ष टुंगिएपछि उनीहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले मिल्न वा न्यायिक समाधान खोज्न सुझाएको थियो । त्यसपछि नाडाका प्रतिनिधिहरूसँग छलफल नभएको जिप्रका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले दृष्टिलाई बताए ।

चौधरीले पुस ९ गतेलाई साधारण सभाको मिति तोकेका छन् । तर त्यो मितिमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका छैनन् । त्यसैले त्यो मान्य नहुने नाडाका प्रतिनिधिहरू बताउँछन् ।

यता असन्तुष्ट पक्षले साधारणसभा स्थगित गर्न अदालतमा मुद्दा हालेको बुझिएको छ । ‘संस्था बचाउनका लागि हामीले न्यायापालिकाको साथ खोज्ने रणनीति बनाएका छौँ,’ नाडाका अर्का एक प्रतिनिधिले दृष्टिलाई भने ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवाद नसुल्झिँदै विशेष साधारणसभा बोलाएपछि अध्यक्ष चौधरीलाई पत्र काटेको थियो । चौधरीले नाडालाई महासंघ बनाउने भन्दै भदौ २४ का लागि विशेष साधारणसभा बोलाएकोमा असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको थियो ।

यसअघि पनि असन्तुष्टसँग छलफल गरेर विवाद सुल्झाउन जिल्ला प्रशासनले निर्देशन दिएपनि चौधरीले टेरेका छैनन् । विधानतः नाडाको साधारणसभा साउनदेखि पुस महिनाभित्रमा गरिसक्नुपर्छ । सोही कारण कुनै पनि हालतमा नाडाको विधान अनुसार साधारणसभा गरिनुपर्ने आवाज उठिरहेको छ । तर संगठनका पदाधिकारीबीचको झगडाले ठूलो रुप लिँदा नाडाको भविष्य नै संकटको दलदलमा फसेको छ । यद्यपि, चौधरीले पुस ९ गतेलाई साधारण सभाको मिति तोकेका छन् । तर त्यो मितिमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका छैनन् । त्यसैले त्यो मान्य नहुने नाडाका प्रतिनिधिहरू बताउँछन् ।

लामो समयदेखि पदाधिकारीबीच विवाद बढ्दै गएपछि पदाधिकारीबीच स्पष्टिकरण सोध्ने र बुझाउनेसम्मको घटनाक्रम विकसित भइसकेको छ ।

केही समयअघि वरिष्ठ उपाध्यक्ष (सदस्यमा घटुवा गरिएका) आकाश गोल्छा पक्षले अध्यक्ष करण चौधरीले एकलौटी रुपमा संस्था चलाउन खोजेको र साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष र सदस्यहरुलाई विधान विपरित सदस्यमा झारिदिएको विषयमा आपत्ति जनाएका थिए ।

त्यसपछि अध्यक्ष चौधरीले आकाश गोल्छा, सुनिल रिजाल, प्रदीपमान प्रधान र सन्जय खेतानलाई स्पष्टीकरण सोधेका थिए । महासचिव सुरेन्द्र कुमार उप्रेतीमार्फत गत असार ३ गते सोधिएको स्पष्टीकरणमा चारै जनालाई लिखित स्पष्टिकरण पेश गर्न भनिएको थियो ।

त्यसपछि गोल्छा, रिजाल, प्रधान र खेतान चारै जनाले स्पष्टिकरण बुझाउँदै उल्टै प्रश्न गरेका थिए । त्यसअघि नाडाले सोधेको स्पष्टिकरणमा गोल्छा र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यबाट हटाउने र प्रधान र खेतानलाई ६ महिनाका लागि निलम्बन गर्ने चेतावनी दिइएको थियो ।

नाडाको यो विवादको सुरूवात नाडाको ४७ औं साधारण सभादेखिको हो । नाडामा साधारणसभामा आपसी समझदारीमा नेतृत्व चयन गरिएको थियो । सोही समयदेखि बल्झिएको विवादले टुक्रने अवस्थामा पुर्याएको हो ।

नाडाको ४७ औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर आकाश गोल्छालाई भाबी अध्यक्ष बनाउने प्रतिबद्धता गरिएको थियो । तर, उक्त प्रतिबद्धताअनुसार विधान संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेपछि गोल्छा सदस्यमा घटुवा भएका थिए । जसलाई चौधरीको चाहनासमेत भनिएको थियो । यही विवादका कारण नाडा विघटनको संघारमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्