काठमाडौं । सेयर बजार सुस्त, लगानीकर्ता निरुत्साहित र अर्थतन्त्र अपेक्षित गतिमा अघि बढ्न नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा कर्जाको प्रवाह भने अस्वाभाविक रूपमा बढाइरहेका छन् । चालु आर्थिक वर्ष २०८२÷८३ को कात्तिक मसान्तसम्म १ खर्ब ४६ अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह हुनु सामान्य वित्तीय विस्तार होइन, यो प्रणालीगत जोखिमको संकेत हो ।

अझ चिन्ताजनक कुरा के हो भने, यस्तो जोखिम बढिरहँदा पनि नेपाल राष्ट्र बैंक नेतृत्वबाट स्पष्ट चेतावनी, कडाइ वा हस्तक्षेप देखिएको छैन । गभर्नर विश्व पौडेलले अर्थतन्त्र सुधार्ने एक मात्र साधन सेयर कर्जाको विस्तार भन्ने सोचेका कारण जसरी नीतिमा लचकता अपनाइरहेका छन्, त्यसले बैंकिङ क्षेत्रले विगतबाट पाठ नसिकेर नागरिकको निक्षेपलाई संकटतर्फ धँकेल्दै गएको देखिन्छ ।
सेयर धितो कर्जा पुँजी बजारलाई चलायमान बनाउने सहायक औजार हो भन्ने मान्यता स्वयं राष्ट्र बैंकको नीतिमा छ । तर व्यवहारमा कर्जा बढ्दा पनि नेप्सेमा त्यसको प्रभाव नदेखिनुले गम्भीर प्रश्न उठाएको छ ।
सेयर धितो राखेर लिइएको कर्जा अनिवार्य रूपमा सेयर बजारमै लगानी गर्नुपर्ने बाध्यता नहुँदा यसको प्रयोग अन्यत्र मोडिएको आशंका बलियो हुँदै गएको छ । नियामकलाई यो तथ्य थाहा हुँदाहुँदै पनि सेयर कर्जामा लगानी बढाउनु जोखिम मोल्नु हो ।
विशेषगरी १ करोड रुपैयाँभन्दा माथिको सेयर कर्जामा चार महिनामै अर्बौँ रुपैयाँको वृद्धि भएको छ, जुन गम्भीर विषय हो । यसले सीमित, ठूला लगानीकर्तामा कर्जा केन्द्रित भएको देखाउँछ । बजार घट्दो अवस्थामा यस्ता कर्जाले बैंकहरूको जोखिम प्रोफाइल असन्तुलित बनाउँछ ।
सेयर मूल्य घटेपछि मार्जिन कल, जबर्जस्ती बिक्री र त्यसबाट बजारमा थप गिरावट, यो चक्र विगतमा पनि देखिइसकेको हो । तर अहिले राष्ट्र बैंक नेतृत्व त्यसै इतिहास दोहोरिन दिन तयार देखिन्छ ।
वाणिज्य बैंकहरूले मात्रै १ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्नु, केही बैंकहरूमा ५० देखि ७० प्रतिशतसम्मको वृद्धि देखिनु, तर नियामकबाट ‘सबै ठिकठाक’ जस्तो संकेत जानु गम्भीर विरोधाभास हो । राष्ट्र बैंकको काम तथ्यांक संकलन गरेर सार्वजनिक गर्ने मात्र होइन, जोखिम पहिचान गरेर समयमै हस्तक्षेप गर्ने हो ।
विगतमा सेयर बजार तातेका बेला राष्ट्र बैंकले कर्जा सीमा, ओभरड्राफ्ट र मार्जिन कर्जामा कडाइ गरेको स्मरण अझै ताजा छ । तर अहिले बजार कमजोर हुँदा पनि कर्जा विस्तारमा सहजता देखिनु नियामकीय दोहोरो मापदण्ड जस्तै देखिन्छ । कर्जा बढे पनि बजार नबढ्नु भनेको कर्जा गलत दिशामा प्रयोग भइरहेको संकेत हो । यस्तो संकेतलाई बेवास्ता गर्नु वित्तीय स्थायित्वप्रति गैरजिम्मेवार दृष्टिकोण हो ।
गभर्नर पौडेलको नेतृत्वमा राष्ट्र बैंक विदेशी मुद्रा सञ्चिति, तरलता र तथ्यांकमा सन्तुष्ट देखिए पनि वास्तविक जोखिम व्यवस्थापन कमजोर देखिएको छ । नियामकको मौनता स्वयं एउटा नीति हो र त्यो नीति अहिले जोखिमलाई प्रोत्साहन गर्ने दिशामा उभिएको जानकारहरूले समेत औँल्याउन थालेका छन् । सेयर धितो कर्जाको अनुगमन, प्रयोगको पारदर्शिता र जोखिम केन्द्रित कडाइबिनाको विस्तारले भोलि बैंकिङ प्रणालीमै दबाब सिर्जना गर्न सक्ने उनीहरूको चेतावनी छ ।
वाणिज्य बैंकहरूले मात्रै १ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्नु, केही बैंकहरूमा ५० देखि ७० प्रतिशतसम्मको वृद्धि देखिनु, तर नियामकबाट ‘सबै ठिकठाक’ जस्तो संकेत जानु गम्भीर विरोधाभास हो । राष्ट्र बैंकको काम तथ्यांक संकलन गरेर सार्वजनिक गर्ने मात्र होइन, जोखिम पहिचान गरेर समयमै हस्तक्षेप गर्ने हो ।
अर्थतन्त्र चलायमान बनाउन कर्जा आवश्यक छ, तर गलत ठाउँमा गएको कर्जा विकास होइन, संकटको बीउ हो । यदि राष्ट्र बैंकले अहिले पनि सेयर धितो कर्जाको प्रयोग, सीमा र जोखिमप्रति स्पष्ट नीति र कडा अनुगमन लागू गर्न सकेन भने भविष्यमा आउने गम्भीर अवस्थाको जिम्मेवारीबाट उम्कन सकिँदैन ।
कात्तिकसम्मको अवधिमा १ करोड रुपैयाँ भन्दा बढीको सेयर धितोमा ४ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी भएको छ । गत असारसम्म १ करोड भन्दा माथिको कर्जा लगानी ९८ अर्ब ९२ करोड रुपेयाँ रहेको थियो । कात्तिक मसान्तसम्म कर्जा लगानी बढेर १ खर्ब ३ अर्ब ३ करोड रुपैयाँ पुगेको हो ।
यसैगरी ५० लाख भन्दा माथि १ करोडसम्मको शेयर धितो कर्जा १६ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म शेयर धितो कर्जा १७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ८ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकले मात्रै शेयर लगानीकर्ताहरुलाई १ खर्ब २३ अर्ब ४३ करोड २१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् ।
बैंकले प्रवाह गरेको शेयर धितो कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकले शेयर धितो कर्जा मार्फत ९१ अर्ब २१ करोड १४ लाख रुपैयाँ प्रदान गरेका थिए ।
कात्तिक मसान्तसम्मको अवधिमा विकास बैंकले १८ अर्ब ८८ करोड ८६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ७.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको कात्तिक महिनासम्म विकास बैंकहरुले १७ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।
कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरुले ३ अर्ब ८२ करोड २९ लाख रुपैयाँ धितोृ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही महिनाको अवधिमा ९.६८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सहरुले ३ अर्ब २३ करोड २७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए ।












