काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको दमन र भदौ २४ गतेको आगजनी घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सकेपछि आयोगले ओलीलाई पत्र पठाउने तयारी गरेको हो ।

आइतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने स्पष्ट गर्दै, त्यसबापत पक्राउ परे पनि तयार रहेको प्रतिक्रिया दिएका थिए । उनले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाउँदै बयान नदिएकै कारण आफूलाई गोली नै हाने पनि हुने भनी आक्रोश व्यक्त गरेका थिए ।
ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि बयानका लागि बोलाइने आयोग स्रोतले जनाएको छ । आयोगले कम्तीमा एक साताको समय दिने गरी पत्र पठाउने तयारी गरेको छ ।
हाल आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ भने वर्तमान आईजीपी तथा तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही अंश बाँकी छ । ती बयान एक-दुई दिनभित्र सम्पन्न भएपछि आयोगले ओलीलाई पत्र पठाउने तयारी गर्नेछ ।
आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मी परिचालन गरेर म्याद तामेल गर्ने तयारी गरेको छ । यसैबीच, तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वसूचना प्राप्त भए आफू कुनै पनि दिन आयोगमा उपस्थित भई आफ्नो भनाइ राख्न तयार रहेको मौखिक सन्देश आयोगका एक सदस्यमार्फत पठाएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीको बयानबारे भने आयोगका अध्यक्ष र सदस्यहरूबीच नियमित छलफल भइरहेको छ । म्याद कसरी तामेल गर्ने र ओली बयानका लागि उपस्थित नभएमा के गर्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भए पनि आयोग अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुगेको छैन ।
आयोगकै कर्मचारी वा प्रहरी परिचालन गरेर ओलीको निवासमै म्याद तामेल गर्ने विकल्पसमेत विचाराधीन रहेको छ ।












