Logo
Logo

कारबाहीबाट जोगिन अध्यक्षको राजीनामा


1.3k
Shares

काठमाडौँ । नेपालकै ठूला वाणिज्य बैंकहरूमध्ये एक मानिने एनआइसी एशिया बैंक पछिल्लो केही वर्षदेखि निरन्तर नियामक निकायको अनुसन्धानको घेरामा पर्दै आएको छ । पुँजीकोष, कर्जा व्यवस्थापन, संस्थागत सुशासन र नियामकीय निर्देशन पालना नगरेको आरोप खेप्दै आएको बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले अन्ततः पदबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष कारबाहीपछि आएको यो राजीनामालाई ढिलो भए पनि अपरिहार्य कदमका रूपमा हेरिएको छ ।

राष्ट्र बैंकले एनआइसी एशिया बैंकले पटक–पटक निर्देशन अवज्ञा गरेको निष्कर्ष निकाल्दै अध्यक्ष अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेलाई जनही दुई–दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंक ऐनअनुसार यस्तो जरिवाना लागेपछि सम्बन्धित पदाधिकारी पदबाट स्वतः निलम्बन हुने व्यवस्था छ । यही कारबाहीको पत्र बैंकले पुस ४ गते प्राप्त गरेपछि अध्यक्ष अग्रवालले राजीनामा दिएका हुन् ।

अग्रवालको राजीनामा बैंकको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । यसअघि नै कारबाहीको डरले तत्कालीन सिइओ न्यौपाने बैंकबाट बाहिरिसकेका थिए। यसरी अध्यक्ष र सीईओ दुवै पदबाट बाहिरिनुले बैंकको शीर्ष नेतृत्व तह नै संकटमा परेको बुझिन्छ । अहिले बैंकको सीईओ भने सुजित शाक्य छन् ।

राष्ट्र बैंकको कारबाहीपछि बैंकभित्र नेतृत्व तहमा तनाव बढेको कर्मचारीहरूले बताएका छन् । यस घटनाले बैंकको नेतृत्व संरचना र नियामक निकायसँगको सम्बन्धलाई पनि थप चर्चामा ल्याएको छ । बैंक स्रोतका अनुसार अब नयाँ अध्यक्ष नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी सुरु भइसकेको छ ।

कहाँ चुक्यो एनआइसी एशिया ?

राष्ट्र बैंकका निरीक्षण प्रतिवेदन र निर्णयअनुसार एनआइसी एशिया बैंकमा गम्भीर प्रकृतिका कमजोरीहरू पटक–पटक देखिएका छन् । बैंकले पुँजीकोष पर्याप्तता कायम गर्न नसकेको, मुनाफा निरन्तर घट्दै गएको, कर्जामा ओभरग्रिनिङ गरिएको, जोखिमअनुसार प्रोभिजन नगरेको र संस्थागत सुशासन कमजोर रहेको नियामकको ठहर छ ।

त्यसैगरी, कर्जा वर्गीकरण र नोक्सानी व्यवस्था, जोखिमभार गणना, ब्याजदरसम्बन्धी निर्देश तथा सञ्चालक र सम्बद्ध पक्षलाई दिइने सुविधामा समेत निर्देशन उल्लंघन भएको राष्ट्र बैंकले औंल्याएको छ । यी कमजोरीहरू एकपटक होइन, विभिन्न त्रैमासिक निरीक्षणमा दोहोरिँदै आएको राष्ट्र बैंक स्रोत बताउँछ ।
राष्ट्र बैंकले एनआइसी एशियालाई एकैचोटि कडा कारबाही गरेको भने होइन । गत एक वर्षभन्दा बढी अवधिमा विभिन्न चरणमा बैंकलाई सचेत गराउने, लिखित निर्देशन दिने र सुधारको कार्ययोजना माग गर्ने काम भएको थियो ।

कुनै त्रैमासमा ऋणीबाट बढी ब्याज असुल गरेको, कुनै समयमा सञ्चालक र उनीहरूका परिवार तथा सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको, कतिपय अवस्थामा कर्जा वर्गीकरण र पुँजीकोषसम्बन्धी गलत रिपोर्टिङ गरिएको पाइएको थियो । यी सबै विषयमा राष्ट्र बैंकले पटक–पटक सुधार गर्न निर्देशन दिँदै आएको थियो । तर, निर्देशनको पालना गर्न बैंकले अटेर गरेको थियो ।

राष्ट्र बैंकले यति धेरै कमजोरी औंल्याइसक्दा पनि अध्यक्ष अग्रवालले यसअघि पद छाडेनन् । राष्ट्र बैंकको पत्रपछि मात्र आएको राजीनामाले बैंकको नेतृत्व तहमा उत्तरदायित्वबोध कमजोर रहेको देखिन्छ । वित्तीय क्षेत्रका जानकारहरूका अनुसार, संस्थागत सुशासन कमजोर हुँदा यस्ता समस्या दीर्घकालसम्म लम्बिने र अन्ततः नियामक हस्तक्षेप अनिवार्य हुने अवस्था आउँछ, जुन एनआइसी एशियाको हकमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्