Logo
Logo

रवि-बालेन भेट : सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने सहमति


819
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट रिहा भएलगत्तै राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । सहकारी ठगी प्रकरणमा लामो समय हिरासतमा रहेका लामिछानेले यही पुस ४ गते रिहा भएसँगै राजनीतिक सक्रियता बढाएका हुन् ।

आन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कर्कीसँग भेट गरिसकेका लामिछानेले राति काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पनि करिब पाँच घण्टा ‘वान–टु–वान’ वार्ता गरेका छन् । यस भेटवार्ताले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

रास्वपा नेता असीम शाहको निवासमा सोमबार साँझ ६ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो । वार्तामा रवि लामिछानेसहित रास्वपाका उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असीम शाह सहभागी थिए भने बालेन शाहका तर्फबाट उनका सल्लाहकार कुमार बेन सहभागी थिए ।

त्यस्तै जेनजी अगुवा सुदन गुरुङ पनि बैठकमा सहभागी थिए । करिब ६ घण्टा चलेको बैठकमध्ये झन्डै पाँच घण्टा रवि र बालेनबीच एक्लाएक्लै संवाद भएको थियो । सो अवधिमा अन्य सहभागीहरू छुट्टै बसेका थिए । सुरुवातमा रवि र बालेनबीच व्यक्तिगत विषयमा कुराकानी भएको बताइएको छ ।

केही दिनअघि मात्र बाबु गुमाएका बालेन र करिब २ सय ६० दिन कारागार बसाईपछि बाहिर आएका रविबीच भावनात्मक संवाद भएको बताइन्छ । त्यसपछि देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको लामिछाने निकट नेताहरुले बताएका छन् ।

भेटवार्तामा वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचन मात्र नभई दीर्घकालीन रूपमा सहकार्य गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रास्वपा नेता असीम शाहले सबैको आशा र अपेक्षाअनुसार देश निर्माणका लागि मिलेर अघि बढ्नुपर्ने भावनाका साथ वार्ता भएको जानकारी दिए । साथै उनले सामाकिज सञ्जालमार्फत कथाको सुखद सुरुवात भएको पनि उल्लेख गरेका छन् ।

वार्ता सकिएपछि रवि लामिछाने र बालेन शाह एउटै गाडीमा बाहिरिएका थिए । कारागारबाट मुक्त भएपछि लामिछानेले जेनजी आन्दोलनमा घाइते भएका र शहीद परिवारहरूसँग पनि भेटघाट गरेका थिए । यस कदमलाई उनले युवा आन्दोलनसँग जोड्दै आफ्नो राजनीतिक आधार मजबुत बनाउने रणनीतिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्