काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्वाचनअघि जिल्लाका प्रहरी प्रमुखको सरुवा तयारी गरेको स्रोतले बताएको छ । सरकारले फागुन २१ मा निर्वाचन घोषणा गरिसकेको र प्रहरी प्रधानकार्यालयले पनि तिब्र तयारी गरेका कारण केही दिनमै एसएसपी, एसपी, डिएसपीहरुको सरुवा तयारी थालेको हो । ‘निर्वाचन आँचारसहिंता लागु नभई सरुवा हुनेछ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।

आइजीपी दानबहादुर कार्कीले जिल्लामा रहेका डिएसपी, एसपी र एसएसपीहरुको कार्यसम्पादन मूल्यांकन लिन काम गरिरहेको त्यसको आधारमा ९ महिनादेखि १२ महिना कार्यसपम्पादन गरिसकेका अधिकारीहरुको सरुवा तयारी गरिरहेका छन् । केही दिनमा धनगढीमा हुने क्षेत्रीय सुरक्षा गोष्ठीबाट फर्केर आएपछि सरुवाको तयारी भैरहेको स्रोतको दावी छ । सरुवाका लागि मानवस्रोत विभागका एआइजी राजन अधिकारीले सूची बनाइसकेको र आइजीपी कार्कीलाई पेश गर्न मात्रै बाँकी रहेको स्रोतको भनाइ छ ।
तीन महिनाअघि तत्कालीन आइजीपी चन्द्रकुवेर खापुङले ९० जना डिएसपी सरुवा गरेका थिए । इटहरी, बौद्ध, पर्वत, मुगु र स्वयम्भू लगायतका विभिन्न स्थानमा डीएसपीहरूको सरुवा भएको थियो ।
डडेलधुरा, भृकुटीमण्डप, गौशाला, दरबारमार्ग र प्युठानमा पनि डीएसपीहरूको सरुवा भएको थियो । असोज १ गते सरुवा भएका कतिपय डिएसपीहरूको पनि कार्यक्षमतामाथि प्रश्न उठेकाले प्रहरी प्रधान कार्यालयले उनीहरुको पनि सरुवा तयारी गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई सरुवा गरिएको थियो ।
डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको थियो ।
प्युठानमा नरहरि अधिकारीलाई पठाइएको थियो भने प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको थियो । प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठ, इलाका प्रहरी कार्यालय कोहलपुरमा चक्र बहादुर डम्बरपाल दार्चुलामा गौरव महतलाई पठाइएको उनीहरुको पनि कार्यसम्पादनबारे छलफल भैरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख रमेश बस्नेतको पनि सरुवा तयारी गरेको छ । उनी त्यहाँ आएको पनि एक वर्ष पुग्न लागेको छ । उनी लगायत १४ एसएसपीको सरुवा तयारी भैरहेको छ ।
काठमाडौं, ललितपुर, भरतपुर तालिमकेन्द्रमा गएका एसएसपीहरुको भने तत्कालै सरुवा नहुने भएको छ । त्यसैगरी लागुऔषधनियन्त्रण व्यूरोमा रहेका एसएसपीको सरुवा नहुने भएको छ । विमानस्थलमा रहेका श्यामकृष्ण अधिकारीलाई भने हटाएर अर्को पठाउने तयारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालयमा रहेका एसपीहरुको पनि सरुवा तयारी भैरहेको छ । एक वर्ष पुग्न लागेका र पुगिसकेका एसपीहरुको सरुवाका लागि सूची तयार भैरहेको छ । बाँके, बर्दिया, रुपन्देही तथा तराईका जिल्लाहरु सिराह, महोत्तरी लगायतका जिल्लाहरुको कमाण्ड परिवर्तन गर्ने गरी मधेश प्रदेशका डिआइजीसँग सरुवा गर्ने गरी तयारी थालिएको छ ।
कमाण्ड नपाएका एसपीहरुलाई त्यहाँ पठाउन लागि लागिएको छ । पर्सा, बारा र धनुषामा भने सरुवा नहुने भएको छ । त्यहाँ भर्खरै एसपीहरु गएकाले उनीहरुको सरुवा रोकिएको हो । कास्की पनि रोकिएको छ । केही समयअघि मात्रै कास्कीमा एसपी फेरिएका थिए ।
प्रहरी प्रधानकार्यालयले दिएको जानकारी अनुसार आइजीपी सचिवालय तथा उजुरी छानवीनमा पनि हेरफेर हुन लागेको छ । कार्यविभाग, मानवस्रोत विभागको प्रहरी कर्मचारी शाखामा रहेका एसपीहरुको तयारी छ । मकवानपुर गणमा र गृहमन्त्रालय तथा साईबर व्यूरोमा रहेका एसपीहरुको पनि सरुवा हुने चर्चा चलिरहेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान विभागका एसपी सरुवाको अवधि पुग्दा काठमाडौ परिसर भने नचल्ने भएको छ । त्यसैगरी दुई डिइआजीको पनि सरुवा तयारी भैरहेको छ ।












