Logo
Logo

एमालेबाट को को निष्ठावान नेताहरू बाहिरिए ?


819
Shares

काठमाडौं । एमालेमा ७० वर्ष उमेर हद लागेपछि भरतमोहन अधिकारीले पार्टीबाट स्वेच्छिक अवकाश लिएका थिए । राजनीतिबाट अवकाश लिएपछि अधिकारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन जाँदा वालुवाटारको गेटबाटै फिर्ता गरिएको थियो । अर्थात्, उनको कुनै पनि सल्लाह ओलीलाई चाहिएको थिएन ।

यतिबेला एमालेको ११औँ महाधिवेशनबाट राजनीतिबाट अवकाश लिनेको संख्या प्रौढदेखि युवासम्म नै रह्यो । निष्ठाको राजनीति गरिरहेका युवराज्ञ ज्ञवाली, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, केशव बडाल राजनीतिबाट बाहिरिए । बडालले ओलीको दबाब सहन नसकेर बाहिरिएको बुझिन्छ ।

राजनीतिबाट बाहिरिदै गर्दा उनले दिएको एउटा अन्र्तवार्तामा ओलीको दबाबबारे रुदै प्रष्टिकरण दिएका छन् । काशीनाथ अधिकारी एमालेको सबैभन्दा शक्तिशाली मानिने संगठन विभागका प्रमुख थिए । उनलाई ओलीले अनुशासन आयोगको अध्यक्ष प्रस्ताव गरेका थिए । तर, उनी स्वेच्छिक अवकाश रोजेर बाहिर बसे ।

स्व. रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले युवा कालमै राजनीति छाडेको घोषणा गरिन । अनेरास्ववियुको नेतृत्वमा केन्द्रीय महिला विभागको प्रमुख हुँदा उनले रवीन्द्र अधिकारीसँग विवाह गरेकी थिइन् । त्यसपछि सक्रिय राजनीतिबाट ओझेल परेकी उनले प्राध्यापन पेशा रोजिन् ।

पर्यटनमन्त्री रहेकै बेला हेलिकप्टर दुर्घटनामा पति अधिकारीको निधन भएपछि उनी फेरि राजनीतिक गतिविधिमा सक्रिय भएकी थिइन । २०७४ को संसदको आधा कार्यकाल र गत भदौमा विघटित संसद गरी दुई कार्यकाल उनले प्रतिनिधिसभा सदस्यको जिम्मेवारी बहन गरिन् । पार्टीमा २०७८ को १० महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् अहिले विदा भएकी छिन् ।

युवा उमेरदेखि नै आन्दोलनमा सक्रिय भएकी अष्टलक्ष्मी शाक्य पनि यही महाधिवेशनदेखि पार्टी जिम्मेवारीबाट मुक्त भएकी छन् । भूमिगतकालमै नेता अमृत बोहोरसँग दाम्पत्य जीवन शुरु गरेकी उनी सांसद, मन्त्रीदेखि बागमती प्रदेश सरकारको केही समय मुख्यमन्त्रीसम्म भइन् ।

१०औँ महाधिवेशनबाट उपाध्यक्ष भएकी थिइन् । पाल्पाका दलबहादुर राना पनि विदा भएका छन् । पाल्पामा एमाले निर्माणकालदेखिका नेता उनले पार्टी कामका सिलसिलामा सांसद र एक कार्यकाल मन्त्रीको जिम्मेवारी पाएका थिए ।

धौलागिरी अञ्चलकै सुयोग्य नेता एमालेको जग निर्माण गर्ने भूपेन्द्रबहादुर थापाले पनि ११ औँ महाधिवेशनबाट सक्रिय भूमिकामा नरहने घोषणा गरेका छन् । ६० वर्ष उमेर नपुग्दै उनले सक्रिय राजनीतिक जीवनबाट विश्राम लिए । २०५४ मा म्यग्दीको जिविस उपसभापतिदेखि २०७४ को संसदीय निर्वाचनबाट सांसदसम्म भए ।

२०४२ सालमै अनेरास्ववियु (पाँचौं) का केन्द्रीय सदस्य भएका भीम केसी १० औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य भएका थिए । उनले पनि विदा लिएका छन् । जनमोर्चाको पृष्ठभूमिबाट एमाले, राजावादी र एमाले हुँदै आएका नेता कमलप्रसाद चौलागाईले पनि विदा लिएका छन् ।

सिन्धुलीकी नेता उमा कोइराला र मनोज जंग थापा पनि विदा भएका छन् । सिन्धुपाल्चोकका पुराना नेता सरेश नेपाल युवा नेतृ ईश्वरी जिएमले पार्टी नेतृत्वबाट बिदा लिएकी छन् । १० औँ महाधिवेशनबाट सबैभन्दा कम उमेरकी केन्द्रीय सदस्यको कीर्तिमान रचेकी जीएमले बालबच्चाको रेखदेखमा समय नपुगेको भन्दै त्यस्तो निर्णय लिएकी हुन् । यसरी एमालेबाट ठूलो संख्यामा नेता कार्यकर्ता बाहिरिएका छन् । पार्टीमा उनीहरुको भुमिका नहुँदा क्षति पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्