काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र गुरुङले निर्वाचनका नाममा मात्र चुनाव गराउने दिशामा सरकार अघि बढ्न नहुने बताएका छन् ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारको तयारी अझै पर्याप्त नभएको टिप्पणी गरे । उनले निर्वाचनको उद्देश्य मुलुकमा विद्यमान बेथिति र समस्याको समाधान हुनुपर्नेमा जोड दिए ।
गुरुङले सरकारले राजनीतिक दलका कार्यालयमा पुगेर संवाद गर्नु सकारात्मक राजनीतिक संस्कार भएको उल्लेख गर्दै यसले निर्वाचनको वातावरण सहज र सौहार्दपूर्ण बनाउने बताए ।
साथै, वर्तमान राजनीतिक संकट समाधानका लागि राजासहितका राजनीतिक दल र जेनजी पुस्ताबीच संवाद र सम्झौता गरेर अघि बढ्नुपर्ने प्रस्ताव सरकारी टोलीसमक्ष राखिएको पनि उनले जानकारी दिए ।
‘निर्वाचनले मुलुकका समस्या समाधान गर्ने हुनुपर्छ, निर्वाचनका लागि मात्र निर्वाचन हुनु हुँदैन । अहिलेको चुनावी प्रक्रिया नै गलत छ, यसलाई सच्याउन राजासहित राजनीतिक दल र जेनजी पुस्तासँग संवाद र सम्झौता गरेर अघि बढ्ने प्रस्ताव राखेका छौँ,’ उनले भने ।
उनका अनुसार सरकारी टोलीको भ्रमण र संवादले समग्र राजनीतिक परिस्थितिलाई सहज बनाउनुका साथै निर्वाचनको माहोललाई सुमधुर बनाउने काम गरेको छ ।












