विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशको आधारमा शासन चलाउनु लोकतन्त्रका लागि घातक हुने बताएका छन् ।

विराटनगरमा आजदेखि सुरु भएको विराट ट्रेड एक्स्पो २०२५ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले वर्तमान सरकारसँग असीमित म्याण्डेट नरहेकाले अध्यादेशको भरमा शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका दृष्टिले हितकर नहुने स्पष्ट पारे ।
‘यो सरकारलाई असीमित म्याण्डेट छैन । संसद् नहुँदा कानुन बनाउनु हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो,’ उनले भने, ‘अध्यादेशका आधारमा शासन चलाउनु न त असल अभ्यास हो, न यसले लोकतन्त्रलाई बलियो बनाउँछ ।’
सीमित म्याण्डेट र संस्थागत अभावका बाबजुद पनि निजी क्षेत्रको आशा सम्बोधन गर्न सरकार प्रयासरत रहेको खनालले बताए ।
साथै, उनले संकटका समयमा निजी क्षेत्रले देखाएको धैर्यता र पुनरुत्थान गर्ने क्षमताको प्रशंसा गर्दै निजी क्षेत्र आफैं सक्रिय भएर अघि बढ्न खोज्नु सकारात्मक संकेत भएको उल्लेख गरे ।











