काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बुधबारको बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यता वितरण र नवीकरणमा ढिलाइ भइसकेको भन्दै तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तीन तहको मात्र अधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।
उनको प्रस्तावमा बुधबार छलफल भए पनि कुनै निर्णय भइसकेको छैन । नेपाली कांग्रेसले छलफलको क्रम जारी रहेपछि बुधबारको बैठक स्थगित गरेर बिहीबार दिउँसो १ बजेका लागि पुनः बैठक राखेको छ ।












