Logo
Logo

बालेन भन्छन्- ‘मिलेर चुनावमा जाऊँ, कुलमानजी हामीसँगै हो, हर्कलाई पनि मिलाउछु’


1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अब आफू संसदीय राजनीतिमा आएर सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखेका छन्।

आफ्नानिकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरस्थित कुपण्डोल निवासमा पछिल्ला दुई दिनदेखि जारी भेटघाट र छलफलमा मेयर बालेनले आफू संसदीय राजनीतिमा प्रवेश गरिसकेको बताउँदै सबै नयाँ शक्तिहरू एकीकृत भएर निर्वाचनमा होमिनुपर्ने आवश्यकता औंल्याएका छन्।

यस क्रममा बालेनले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र सुनिल शर्मा, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, चिकित्सक डा. भगवान कोइराला, जेनजी अभियानका अभियन्ता रक्षा बम, सागर ढकाल, केपी खनाल तथा अभिनेता निश्चल बस्नेतलगायतसँग छलफल गरेका छन् ।

तीमध्ये बालेनसँग भेटवार्ता गरेका एक नेताका अनुसार ऊर्जा मन्त्री कुलमान घिसिङसँग एक भएर अघि बढ्ने विषय पनि लगभग टुंगो लागिसकेका छन् । भेटका क्रममा कुलमान घिसिङको नाम उठ्दा बालेनले भनेका थिए– ‘कुलमानजी हामीसँगै हुनुहुन्छ। उहाँको बारेमा चिन्ता गर्नुपर्दैन, हामी एकै हौं ।’

मेयर बालेनले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग पनि छलफल गरेर मिलेर अघि बढ्ने तयारी रहेको बताएका छन् ।

वैकल्पिक शक्ति निर्माणको प्रयासमा जुटिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र मेयर बालेनबीच अहिले पनि वान–टु–वान संवाद जारी छ।

वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएको ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङसमेत उक्त छलफलमा सहभागी भएका छन्।

यसअघि सोमबार राति पनि रवि लामिछाने र बालेन शाहबीच लामो समय छलफल भएको थियो । रास्वपाका केही नेताहरूले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने विकल्पबारे समेत छलफल गरेका थिए । तर, भेटवार्ताको भोलिपल्ट चितवनमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले त्यो तहको संवादमा अझै प्रवेश नभइसकेको बताएका थिए ।

उनले आ-आफ्नो संवादका आधारमा विषयको व्याख्या भएको उल्लेख गर्दै अन्य राजनीतिक शक्तिसँग पनि छलफल जारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्