काठमाडौँ । स्थापनादेखि हालसम्म नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या साढे ४७ लाख नाघेको छ ।

गएको मङ्सिर मसान्तसम्म कुल ४७ लाख ७७ हजार ७ सय जनाले सङ्ग्रहालय भ्रमण गरेका छन् ।
शाहवंशीय राजतन्त्रको अन्त्यपछि नारायणहिटी राजदरबारलाई २०६५ साल असार १ गते सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो । सोही दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत् रूपमा उद्घाटन गरे पनि सर्वसाधारणका लागि भने २०६५ साल फागुन १५ गतेदेखि खुला गरिएको थियो ।
सरकारले प्रवेश शुल्कका रूपमा विद्यार्थीबाट ५० रुपैयाँ, नेपाली नागरिकबाट २०० रुपैयाँ, सार्क राष्ट्रका नागरिकबाट ५०० रुपैयाँ र अन्य विदेशी नागरिकबाट १,००० रुपैयाँ लिँदै आएको छ । सङ्ग्रहालय हप्ताको मङ्गलबार र बुधबार बन्द रहने गर्छ भने शनिबारसहित अन्य सार्वजनिक बिदाका दिनमा खुला रहन्छ ।












