एजेन्सी । ताइवानलाई हतियार बिक्री गरेको आरोपमा चीनले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयले १० जना व्यक्ति र २० वटा अमेरिकी रक्षा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्ध घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रतिबन्धको सूचीमा विश्वकै ठूला एअरोस्पेस उत्पादक कम्पनीहरूमध्ये एक बोइङ पनि समावेश रहेको बताइएको छ। प्रतिबन्धअनुसार सम्बन्धित कम्पनी तथा व्यक्तिहरूको चीनभित्र रहेका सम्पत्ति रोक्का गरिनेछ भने चीनका संस्था र नागरिकलाई उनीहरूसँग कुनै पनि प्रकारको व्यापारिक कारोबार गर्न निषेध गरिने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
गत हप्ता अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने घोषणा गरेपछि चीनले यो कदम चालेको हो। यो प्याकेज ताइवानका लागि अहिलेसम्मकै ठूलो अमेरिकी हतियार सहायता भएको बताइएको छ, जसले चीनमा तीव्र असन्तोष पैदा गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत ताइवान मुद्दा चीनको मुख्य सरोकारको विषय भएको उल्लेख गर्दै यसले चीन–अमेरिका सम्बन्धलाई प्रभावित पार्नु नहुने बताएका छन् ।
विज्ञप्तिमा ताइवानसम्बन्धी विषयमा सीमा नाघ्ने कुनै पनि उत्तेजक गतिविधिलाई चीनले कडा प्रतिक्रिया दिने चेतावनी दिँदै ताइवानलाई हतियार उपलब्ध गराउने ‘खतरनाक प्रयास’ तत्काल रोक्न आग्रह गरिएको छ।












