Logo
Logo

फुटबलको जादुगरले सिकाएको सहअस्तित्वको पाठ


378
Shares

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी विश्व फुटबलका महान् खेलाडी हुन् । यो सत्य जगतलाई थाहै छ । तर, उनी मानवता र सद्भावको मैदानमा प्रेरणाको प्रतीक पनि हुन् ।

मेस्सीका करोडौँ डाइहड फ्यानमध्ये म पनि एक हुँ । त्यो उनको जादुगर खेलले जबरजस्त फ्यान बनाएको हो । तर, आज म मेस्सीको खेल जादुको कुरा गर्न चाहन्नँ । उनको मानवता र संस्कृतिप्रति गहिरो आदरको कुरा लेख्दैछु ।

गत साता मेस्सी भारत भ्रमणमा आएका थिए । तीन दिनको छोटो समयमा कोलकाता, हैदराबाद, मुम्बई र दिल्ली गरी चार शहर घुमे । तर, भ्रमणको सबैभन्दा रोचक र हृदयस्पर्शी क्षण भनेको जामनगरको वनतारा भ्रमण रह्यो । जहाँ मेस्सीले भारतीय संस्कृति र सनातन धर्मको सम्मान गर्दै परम्परागत अनुष्ठानमा भाग लिए ।

विश्वका ठूला उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको निमन्त्रणामा मेस्सी आफ्ना साथीहरू लुइस सुआरेज र रोड्रिगो डि-पलसहित जामनगर पुगेका थिए । उनीहरूको स्वागत परम्पराअनुसार लोकसंगीतको मधुर तरङ्ग, फूलको वर्षा र पवित्र आरतीले गरियो ।

वनतारामा प्रत्येक कार्य सनातन धर्मको परम्परा अनुसार देवताहरूको आशीर्वाद लिएर मात्र सुरु गरिन्छ । मेस्सीले यस परम्परालाई आदर गर्दै महाआरतीमा भाग लिए । उनले अम्बे माता पूजा, गणेश पूजा, हनुमान पूजा र शिव अभिषेकमा सहभागी भएर हृदयस्पर्शी श्रद्धा देखाए । विशेषगरी हनुमानजीको मूर्तिअगाडि टेकेर आशीर्वाद ग्रहण गरेको दृश्य अत्यन्त मार्मिक र प्रेरणादायी रह्यो ।

एक विश्वप्रसिद्ध खेलाडीले फुटबलको मैदानबाट बाहिर आएर धर्म र संस्कृतिप्रति गहिरो सम्मान प्रकट गरे । मेस्सीले पूजा थाली समातेर आरती गरे, रातो टीका लगाएर शान्तिपूर्वक प्रार्थना गरे । उनले केवल पूजामा भाग मात्र लिएनन्, वनतारामा भइरहेको संरक्षण कार्यको मुक्तकण्ठ प्रशंसा पनि गरे । जसले उनको संवेदनशीलता, मानवता र प्रकृतिप्रति गहिरो आदर उजागर ग¥यो ।

मेस्सीको भारत भ्रमण र उनले त्यहाँको हिन्दू परम्परामा सहभागीताले विश्वभरका मानिसहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ । यो एउटा खेल व्यक्तित्वको भ्रमण मात्र नभई मानवता, संस्कृति र सहअस्तित्वको एउटा बलियो उदाहरण हो ।

मानवको धर्म फरक पर्न सक्छ । संस्कृति फरक पर्न सक्छ । तर, परम्परा र मानवताको सम्मानको सार्वभौमिक मूल्यलाई मेस्सीले आफ्नै कर्मले विश्वसामु देखाए । यही सन्देशले आज हामी सबैलाई मानवता र सद्भावको पथमा प्रेरित ग¥यो ।

मेस्सी कुनै साधारण पर्यटक होइनन् । उनी विश्वका करोडौँ मानिसका लागि प्रेरणाको स्रोत हुन् । यस्ता व्यक्तिले आफू जन्मिएको धर्म र पालन गरेको आस्थाभन्दा बाहिर उभिएर अर्को सभ्यता र अर्को परम्पराप्रति नतमस्तक हुनु ‘धर्म परिवर्तन’ होइन, धर्मको परिपक्वता हो । यसले धर्म अरूलाई नकार्नुमा होइन, सम्मान र सहअस्तित्वमा निहित हुन्छ भन्ने पाठ सिकाएको छ ।

धर्म व्यक्ति-व्यक्तिको निजी विश्वास हो, त्यो फरकफरक हुनसक्छ, आस्थाहरू अलग–अलग हुन सक्छन् । तर मानवता भने सबैको साझा मूल्य हो । मेस्सीको भारत भ्रमण र हिन्दू परम्पराअनुसार गरिएको महाआरतीले यही सत्यलाई पुनः उजागर गरेको छ । क्रिस्चियन धर्मावलम्बी मेस्सीले हिन्दू संस्कृतिप्रति देखाएको सम्मान कुनै धार्मिक रूपान्तरणको संकेत होइन, न त आस्थासँग गरिएको सम्झौता । यो त सभ्यता, संस्कार र मानवतालाई आदर गर्ने उदार चेतनाको सुन्दर अभिव्यक्ति हो ।

आज विश्वमा धर्मका नाममा घृणा फैलाइँदैछ । “हाम्रो धर्म मात्र सत्य” भन्ने दम्भले युद्ध, हिंसा र विभाजन जन्माइरहेको छ । धर्मका नाममा विभाजनको राजनीति, घृणाको व्यापार र पहिचानको संकीर्णता बढ्दो छ । यस्तो समयमा एक विश्वप्रसिद्ध किस्चियन खेलाडीले हिन्दू परम्परामा सहभागी भएर दिएको सन्देश सानो देखिए पनि यसको अर्थ गहिरो छ– धर्मले मानिसलाई अलग पार्न होइन, जोड्नुपर्छ ।

खेलकुद स्वयं मानवताको साझा भाषा हो । यो रंग, जात, धर्म र राष्ट्रको सीमाभन्दा माथि उठेर मानिसलाई जोड्ने शक्ति हो । जुन काम मेस्सीले गर्दै आएका छन् । त्यसैगरी, हिन्दू समाजले पनि मेस्सीको व्यक्तिगत धर्मलाई प्रश्नको कठघरामा उभ्याएन । यही आपसी सम्मान र परिपक्वता नै सभ्य समाजको सच्चा पहिचान हो ।

धर्मले फरक पार्छ भन्ने कथन धेरै हदसम्म गलत छ । फरक पार्ने धर्मले होइन, धर्मको राजनीतिक प्रयोगले हो । जब धर्म मानवताबाट टाढा जान्छ, तब कट्टरता जन्मिन्छ । तर, जब धर्म संस्कृति र नैतिकतासँग हातेमालो गर्छ, तब धर्मले सहअस्तित्व कायम गर्छ । मेस्सीको महाआरतीमा सहभागिता यसै सहअस्तित्वको प्रतीक हो ।

यस घटनाबाट सिक्नुपर्ने पाठ स्पष्ट छ, विश्वव्यापी ख्याति पाएका व्यक्तित्वहरूले देखाएको सम्मानले सामान्य मानिसमा पनि प्रभाव पार्छ । यदि एक किस्चियन खेलाडी हिन्दू परम्पराको सम्मान गर्न सक्छ भने, किन हामी आफ्नै समाजभित्र फरक धर्म, भाषा र संस्कृतिलाई सहन सक्दैनौँ ? प्रश्न धर्मको होइन, दृष्टिकोणको हो ।

नेपाल पनि बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ धर्मको नाममा विभाजनको बीउ रोप्ने प्रयास भइरहेका छन् । त्यसैले मेस्सीको यो व्यवहार नेपालका लागि पनि ऐना हो । किरातको साकेला, हिन्दूको पूजा, बौद्धको ध्यान वा इस्लामको इबादत सबै नेपाली सभ्यताको साझा धरोहर हुन् । त्यसैगरी इसाईको क्रिसमसलाई पनि सबैले सम्मान गर्नुपर्छ । फरक आस्थालाई सम्मान गर्नु आफ्नै पहिचान गुमाउनु होइन, झन् बलियो बनाउनु हो ।

मानवता धर्मभन्दा ठूलो मूल्य हो । संस्कृति र परम्पराको सम्मान गर्नु मानवताको सर्वोच्च अभिव्यक्ति हो । मेस्सीको भारत भ्रमणले यही सन्देश दिएको छ– हामी फरक–फरक विश्वासका यात्रु हुन सक्छौँ, तर एउटै मानवताको बाटोमा हिँडिरहेका छौँ । यही बाटोले मात्र विश्वलाई विभाजन होइन, सहअस्तित्वतर्फ डोर्याउन सक्छ ।

दुर्भाग्यवश, धेरै मानिसहरू आफ्नो धर्म र संस्कृतिलाई ‘सर्वश्रेष्ठ’ ठान्दै अरूलाई ‘पराई’ बनाउने भ्रममा बाँचेका छन् । तर जब एउटा क्रिश्चियनले हिन्दूको दियो बाल्छ, तब त्यहाँ न धर्म बाँकी रहन्छ, न जात; बाँकी रहन्छ त केवल पवित्र मानवीय भावना, जसले सभ्यताको वास्तविक अर्थ उजागर गर्छ ।

अन्त्यमा, मेस्सीको भारत भ्रमणले एउटै सत्यलाई पुनः पुष्टि गरेको छ– हामी हिँड्ने बाटो र मान्ने विश्वास फरक हुन सक्छन्, तर हाम्रो गन्तव्य र धरातल एउटै मानवता हो । साँच्चै, मेस्सीले मैदानमा गोल गरेर मात्र होइन, मैदानबाहिर मन जितेर प्रमाणित गरिएका छन् । धर्म र आस्था फरक पर्न सक्छन्, तर सम्मान, सहिष्णुता र मानवता सार्वभौमिक रहन्छ । यो उदार चेतनाले आगामी पुस्तालाई सधैँ सद्भावको पथमा हिँड्न प्रेरित गरिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्