Logo
Logo

शेयर बजारलाई हलचल गराउन अग्रवालका १५ वटा ‘टीएमएएस युजर’


441
Shares

काठमाडौं । नेपालको शेयर बजारमा हलचल ल्याउने एक कारोबारी हुन दीपेन्द्र अग्रवाल । शेयर कारोबारको दोस्रो बजारमा उनले ल्याउने हलचलकै कारण कारोबारीहरु अप्ठेरोमा पर्ने गरेका छन् । उनी अहिले दोस्रो पटक प्रहरीको हिरासतमा रहेका छन् । पहिलो पटक उनलाइ साउन ५ गते जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो । दोस्रो पटक पुस ४ गते सिआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सिआइबीले उनीमाथि आर्थिक अपराधमा अनुसन्धान गरिरहेको छ ।

उनी पक्राउ पर्नुमा पनि सेयरसम्बन्धी कारोबार जोडिएको पाइएको छ । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ । अहिले पनि उनलाई आर्थिक कारोबार बिगारेको विषयमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको सिआइबीको दावी छ ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेका थिए ।

उनले उक्त भ्रामक सूचना प्रवाह गरेर उच्च मूल्यमा सेयर विक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून विपरीत नाफा आर्जन गरेको सीआइबीको अनुसन्धानमा भेटिएको छ । अग्रवालले अन्य अन्य टीएमएएस युजर प्रयोग गरी आपसी खरिद बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले छ ।

उनले धितोपत्र ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको फेला परेको छ । मोरङको विराटनगर स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका वडा नं ४, चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ । अहिले मात्र होइन उनले धेरै पटक नेपालको शेयर बजारलाई आफ्नो अनुकुलमा हिडाउन खोजेको आरोप लाग्दै आएको छ ।

यसअघि धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेका थिए । साहले अग्रवाललाई उक्त रकम दिनुको कारण सेयरसम्बन्धी कारोबार रहेको थियो । करिब साढे ६ करोड रुपैयाँ दिए पनि साहले न सेयर पाए न रकम नै फिर्ता पाए । सेयरको प्रलोभन देखाएपछि आफूले अग्रवालको खातामा रकम हालेका थिए। । पछि रकम पनि फिर्ता नपाएको र सेयर पनि नपाएपछि उनी प्रहरीकोमा पुगेका थिए ।

अग्रवालले कसरी फसाउँथे मान्छे ?
अग्रवालले सेयर कारोबारमार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएको आरोप पनि छ । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । आफूले बेचेको सेयर आफैं किन्ने, महँगोमा जनता फसाउने उनको धन्दा रहेको छ ।

सेयर बजारमा धेरै लगानीकर्ताले ‘आदर्श’ मान्ने गरेका अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दै आएको आरोप छ । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जालमार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पु¥याउने भन्दै झुटा अस्वासन दिने गर्छन ।

सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्ने गरेका छन् । अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने गरेका छन् । उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्छन ।

२५ पुस २०८१ मा सेयर कारोबारी दीपेन्द्र अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता सेयर ज्योति अग्रवाललाई बिक्री गरेका थिए । त्यसपछि ज्योति अग्रवालको टीएमएस पनि दीपेन्द्रले नै चलाइ १६ वैशाख २०८२ मा बैंकको २० हजार कित्ता सेयर स्मार्ट डोर्स लिमिटेडलाई बिक्री गरेका थिए । स्मार्ट डोर्स लिमिटेडमा दीपेन्द्र सञ्चालक हुन् । उक्त कम्पनीमा उनो ०.०४ प्रतिशत सेयर छ । साथै, उनका पिता जयप्रकाशको २२.१३ प्रतिशत सेयर छ ।

त्यसैगरी, दीपेन्द्रले गोर्खाज फाइनान्सको सेयर ज्योति अग्रवालको नामबाट किनेका थिए । यो अवधिमा सेयर मूल्य बढाउन उनले आफ्नो नामको सेयर पनि ज्योतिलाई खरिद गराएका थिए । आफ्ना बुबाबाट रामसिंह साउदका नाममा खरिद गरेका थिए । सोही अवधिमा उनले आफ्ना पिताबाट नेपाल बैंकको सेयर खरिद गरेका थिए । उनले यसरी सेयरको मूल्यमा चलखेल गर्न १५ जनाको नामबाट आफैँ खरिद–बिक्री गर्ने गरेको धितोपत्र बोर्डकै अध्ययनले पुष्टि गरेपछि विवादमा मुछिदै आए ।

स्रोतका अनुसार दीपेन्द्रले सेयरमात्र होइन, ती सबैको खाताबाट सेयर किनबेचको पैसा पनि ट्रान्स्फर गरेर आफ्नोमा ल्याउने तथा ती खातामा पठाउने गर्छन् । उनले आफ्ना बुबाको खाताबाट सविता अग्रवालको खातामा पठाउने र सविताको खाताबाट आफ्नोमा पठाउने गरेको बोर्डको अध्ययनबाट देखिएको थियो । त्यसपछि ज्योतिको नाममा किनिएको सेयर भुक्तानीका लागि पनि पिता अग्रवालको खाताको रकम प्रयोग गरेको देखिएको थियो ।

दीपेन्द्रले खरिद गरेको सेयर आफूलाई पायक पर्ने गरी क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मार्फत निक्षेप खातामा पठाउन लगाउने । उनले आधिकांश सेयर जुन कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सँग लिंक भएको हो, त्यसमा नभई अन्य ब्रोकर कम्पनीमा रहेको निक्षेप खातामा पठाइ कारोबार गर्ने गरेको जानकारहरुको दावी छ ।

स्रोतका अनुसार सेयर मूल्य बढाउन आफैले सञ्चालन गरेको खातालाई प्रयोग गर्ने गरेको पनि स्रोतको दावी छ । उनले अहिलेको नेप्सेको कारोबार प्रणालीको कमजोरीको पनि फाइदा लिएर यसो गरेको स्रोतको दावी छ । एक व्यक्तिले धेरैमा २ वटा सम्म निक्षेप खाता खोल्न सक्छ । सोही आधारमा २ वटासम्म टीएमएस लिन सक्छ । त्यसलाई अग्रवालले एक धितोपत्र ब्रोकरबाट किन्ने र सेयर भने अर्कोमा राख्न लगाउने गरी लगानीकर्तालाई झुक्याउने गरेका थिए ।

एक धितोपत्र ब्रोकरका अनुसार दीपेन्द्रजस्ता कारोबारीका कारण धेरै लगानीकर्ताले सेयरबजारमा पैसा गुमाउने गरेका छन् । दीपेन्द्रले समाजिक सञ्जाल मार्फत हल्ला गर्ने अनि बजार खुलेपछि आफूले बेच्ने गर्दा धेरै लगानीकर्ताले गुमाएका ब्रोकरहरूको भनाइ छ । दीपेन्द्रले सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गर्ने, म्याचिङ गर्ने र लगानीकर्तालाई बिक्री गरेर आफूले कमाउने धन्दा गरेको भएर नै धितोपत्र बोर्ड र प्रहरीले अनुसन्धान गरेको थियो ।

के गर्थे, के गर्छन ?
दोस्रो बजारमा उनी एक विवादित र सक्रिय लगानीकर्ताका रुपमा पनि चिनिएका उनी यसअघि उनी साविक जनरल इन्स्योरेन्स कम्पनीको संचालक समेत थिए । सेयरबजारमा करोडौं लगानी गर्ने अग्रवालले नियामक निकाय धितोपत्र बोर्डलाई समेत अटेरी गर्दै आएका छन् । यही अटेरीपन र खुलेआम कुनै कम्पनीको मूल्य घटबढ गराउने भूमिकाका कारण उनलाई धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले कारबाही गरेका थिए । लामो समयसम्म अग्रवालको बैंक खाता सस्पेन्ड गरिएको थियो भने उनलाई व्यक्तिगत रुपमा कारोबारमा समेत रोक लगाइएको थियो । हमाल पावरमा रहुञ्जेल उनी बजारबाट हराएका थिए । जब हमालको कार्यकाल सकियो र धितोपत्र बोर्ड अध्यक्षविहीन अवस्थामा कमजोर बन्यो, तब अग्रवालको पुरानै शैली र रुप छताछुल्ल हुन थालेको छ । उनी आफूसँग सबै तह र तप्काका व्यक्तिहरुको राम्रो सम्बन्ध रहेको भन्दै खुलेआम कम्पनीको सेयरमा चलखेल गर्न थालेका छन् ।

स्रोतकाअनुसार अग्रवालको मन्त्रीदेखि राष्ट्र बैंकका गर्भनर र उच्च पदस्थ ब्यक्तिहरुसँग समेत राम्रो सम्बन्ध रहेको छ । यसैकारण नियामक र सञ्चारमाध्यमलाई समेत चूनौती दिंदै अग्रवाल सेयरबजारको कारोबार समयमै आफ्नो फेसबुकका भित्तामा खुलेआम ‘कुनै विशेष कम्पनीको सेयर’ किन्न लगानीकर्तालाई आह्वान गर्छन्, गरिरहेका हुन्छन ।

धितोपत्र बोर्डका अनुसार सेयरबजारमा कारोबार समयमा कसैले पनि सेयरबजार प्रभाव पार्ने खालका अभिव्यक्ति राख्न वा दिन पाइन्न । कसैले दिए त्यो गैरकानूनी काम हो र त्यसलाई दण्ड हुन्छ । तर, अग्रवाल भने कुनै कानूनको डरबिनै खुलेआम लगानीकर्ता उक्साइरहेका भेटिन्छन् । आफूले खरिद गरेको सेयर एकहजार रुपैयाँसम्म पुर्याउने अग्रवालको अभियान अझ बनाउने गर्छन र सोझा कारोवारीलाई फसाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्