काठमाडौं । नेपाली काँग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । केहिदिन देखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।

शनिवार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरूले तोकिएको समयमा नै महाधिवेशन हुने गरी व्यवहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए ।
पुस ८ गतेभित्र क्रियाशिल सदस्यताको बिषय टुङ्गीन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहेको उनले बताए ।
उनले वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रुपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेको बताए ।












