Logo
Logo

युवाको आवाज


भुपेन्द्र थापा ‘माधव’

252
Shares

देशभक्त युवा सारा अब उठ्नु पर्छ।
एकताको आवाज बोकी अघि बढ्नै पर्छ।
रवि,हर्क,गोपीहरू अब जुट्नै पर्छ ।
भ्रष्ट शासन, झोला, चम्चा तिम्ले फ्याँक्नु पर्छ।

नेपाल आमा रुवाउनेलाई दिनु हुन्न माफी
दलाल,भ्रष्ट,हत्यारालाई दिनु पर्छ फाँसी
कलम सँगै औजार पनि अब जुट्नु पर्छ।
इतिहासका गाथा सँगै चिहान खन्नु पर्छ।

विवेक सँगै चेतनाको बाढी आउनु पर्छ।
सहिदहरू चिहानबाट फेरि उठ्नु पर्छ।
भोका नाङ्गा किसान,मजदुर अब जाग्नु पर्छ।
समृद्धिको किरण सँगै कुशासनको छाया भाग्नु पर्छ।

रगतको नदी तरी सिंहासनमा पुग्ने
मालिकको गेटमा बसी जनतामा नै भुक्ने
श्रम अनि पसिनालाई उपियाँ बनी चुस्ने
गिद्धहरू आमाको चौटा कहिलेसम्म लुच्छने ?

दलाली र बिचौलियाले खाए मेरो देश
सप्तरङ्गी हजार जिब्रा नचिनिने भेष
राष्ट्रघाती, जनघाति कसको गर्नु भर
स्वतन्त्र र समानताको पूरा होला रहर

सगरमाथा शिरको टोपी झुक्न दिनु हुन्न।
भृकुटी र अरनिको अब रुनु हुन्न।
गौतमबुद्ध यता-उता कतै जानू हुन्न।
सिंहदरबार पानी विना प्यासले मर्नु हुन्न।

प्रतिक्रिया दिनुहोस्