रसुवा । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै भोलिदेखि नाका सञ्चालनमा आउने भएको छ । चिनियाँ पक्षले शनिवार एक सूचना जारी गरेर भोलि आइतबारदेखि नाकामा नेपालीलाई आवतजावत गर्न दिने जानकारी दिएको हो ।

सूचनामा मितेरी बेलिब्रिज पुलको निर्माण पुरा भएको र निरीक्षण समेत पास भएकाले आइतबारदेखि सीमापार ढुवानीमा संलग्न चालक र यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइने उल्लेख छ । साथै चिनियाँ पक्षले सबै सम्बन्धित पक्षलाई आवश्यक तयारी पूरा गरी सवारी साधन लोड लगायतका अग्रीम तयारी गर्न आग्रह गरेको छ ।
त्यस्तै आगामी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षण गरी आवागमन अनुमति दिने सूचनामा उल्लेख छ । यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने भएको छ ।
जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि अर्को वर्षको जनवरी ८ सम्म आधा दिन मात्र सीमापार आवागमनका लागि प्रयोग हुनेछ । यस अवधिमा चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवै तर्फबाट आवागमन नियन्त्रण गरिने सूचनामा उल्लेख छ ।
२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देश बीचको सडकसम्पर्क बिच्छेद भएको छ । उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको हो ।












